वाग्मती, भदौ १ :

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज ११ बजे बस्ने भएको छ ।

विश्वासको मत लिने वा राजीनामा दिने भन्ने निर्णयका लागि काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

बैठकमा प्रदेश सरकारका मुख्य मन्त्री इन्द्र बहादुर बानियाँले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने निर्णय हुनेछ ।

“मुख्य मन्त्रीले राजीनामा दिने कि विश्वासको मत लिने भन्नेमा आज बस्ने संसदीय दलको बैठकबाट निर्णय लिइनेछ ।” प्रदेश सरकारका प्रवक्ता पनि रहनुभएका अर्थमन्त्री प्रभात तामाङले भने ।

प्रदेश सरकारमा नेकपा (एमाले) ले गत ६ साउनबाट समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि बानियाँ नेतृत्वको प्रदेश सरकार अल्पमतमा छ ।

नेपालको संविधानको धारा, १८८ को उपधारा (२) मा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्य मन्त्रीले ३० दिनभित्र प्रदेशसभासमक्ष विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था छ ।

यस्तै, सोही धाराको उपधारा (१) र (२) अनुसार प्रस्ताव प्रदेशल सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसके मुख्यमन्त्री  पदमुक्त हुनेछन ।

त्यसपछि संविधानको धारा, १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ ।

बागमती प्रदेशसभामा ११० जना सांसद रहेकामा ६ जनाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न राजिनामा दिएकाले अहिले १०४ जना सदस्य छन् ।  विश्वासको मतका लागि  ५३ जना सांसदको समर्थन आवश्यक पर्दछ ।

बागमतीमा सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेको ३६, नेकपा एमालेको उपभासमुखसहित २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को २६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन् ।