काठमाडौं, भदौ २ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा (खत्री) ले आगामी भदौ २३ गते प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गरेकी छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद खत्रीले ‘जेनजी’आन्दोलनको एक वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्रीले सहिदहरूको सम्मानमा विशेष सम्बोधन गर्ने अपेक्षा राखेकी छन् ।

युवाहरुको बलिदानको जगबाट बनेको सरकारले आन्दोलनका कति मागहरू पूरा भए, घाइतेहरूको अवस्था कस्तो छ र भ्रष्टाचारीहरूमाथि कारबाहीको प्रक्रिया कहाँ पुग्यो भन्ने लगायतका विषयमा स्पष्ट पार्नुपर्ने बताइन् । युवाहरूले भ्रष्टाचारको अन्त्य, सुशासन र सुरक्षित भविष्यका लागि भदौ २३ र २४ गते  बलिदान दिएको उनले स्मरण गराइन् ।

 प्रधानमन्त्रीले सम्बोधन गर्लान् या गर्दैनन् भनेर उनको सचिवालयले केही बताएको छैन । यदि सम्बोधन गरेनन् भने पनि उनले सामाजिक सञ्जालमार्फत भने अवश्यक सम्झिनेछन् भन्ने धेरैलाई लागेको छ । किन भने आन्दोलनका दिन पनि उनले सामाजिक सञ्जालमार्फत नै भिडलाई निर्देशन र नियन्त्रण गरेका थिए ।

सांसद खतिवडा गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका २२ वर्षीय रसिक खतिवडाकी आमा हुन्।