काठमाडौं, भदौ २ :

कागेश्वरी मनोहरा नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको बायोमेट्रिक प्रणालीमार्फत धमाधम परिचयपत्र नवीकरण गर्ने कार्य भइरहेको छ। नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले वडा नम्बर १ देखि ९ सम्मका लाभग्राहीलाई लक्षित गरी सम्बन्धित वडा कार्यालयमै शिविरमार्फत नवीकरण गर्ने व्यवस्था गरेको छ।

शाखाका प्रमुख रमेशकुमार पुडासैनीका अनुसार वडा नम्बर ९ मा साउन ११ देखि १४ गतेसम्म, वडा नम्बर ६ मा साउन १५ देखि २० गतेसम्म, वडा नम्बर ७ मा साउन २१ देखि २६ गतेसम्म तथा वडा नम्बर ८ मा साउन २७ गतेदेखि भदौ २ गतेसम्म  नवीकरण शिविर सञ्चालन गरिएको छ। उक्त शिविरको अवलोकनका लागि प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी पनि पुगेका थिए ।

अब वडा नम्बर १ मा भदौ ३ (भोलि) देखि ९ गतेसम्म नवीकरण गरिनेछ। त्यसपछि वडा नम्बर २ मा भदौ १० देखि १६ गतेसम्म, वडा नम्बर ३ मा भदौ १७ देखि २३ गतेसम्म, वडा नम्बर ४ मा भदौ २४ देखि ३० गतेसम्म र वडा नम्बर ५ मा असोज १ देखि ६ गतेसम्म शिविर सञ्चालन हुने पुडासैनीले जानकारी दिए। शिविर बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन भइरहेको छ।

नगरपालिकाले यस वर्ष सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विगतको भन्दा लामो अवधि सेवा उपलब्ध गराएको छ। विगतमा साउन १ देखि भदौ मसान्तसम्म मात्र नवीकरण शिविर सञ्चालन हुँदै आएकोमा यस वर्ष साउन १ देखि असोज मसान्तसम्म नै शिविर सञ्चालन गर्ने व्यवस्था मिलाइएको शाखा प्रमुख पुडासैनीले बताए।

आफ्नै पालिकाका सेवाग्राहीलाई प्राथमिकता दिँदै बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म नवीकरण सेवा प्रदान गरिँदै आएकोमा बेलुका ४ देखि ७ बजेसम्म भने अन्य पालिकाका सेवाग्राहीको समेत नवीकरण गरिँदै आएको उनले बताए। उक्त व्यवस्थाबाट हालसम्म बाहिरी पालिकाका करिब १ हजार ५०० जना लाभग्राहीले सेवा लिइसकेका छन्।

उनका अनुसार नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्म सार्वजनिक बिदाबाहेक कम्तीमा चारदेखि पाँच दिनसम्म घुम्ती शिविर सञ्चालन भइरहेको छ। हिँड्डुल गर्न नसक्ने अशक्त तथा असहाय सामाजिक सुरक्षा लाभग्राहीलाई लक्षित गरी असोज ७ गतेदेखि २१ गतेसम्म घरदैलोमा सामाजिक सुरक्षा बायोमेट्रिक नवीकरण शिविरसमेत सञ्चालन गर्ने व्यवस्था गरिएको छ। सम्बन्धित वडा अध्यक्षको सिफारिस प्राप्त भएपछि प्राविधिक तथा कर्मचारीको टोली लाभग्राहीको घरमै पुगेर नवीकरण गर्ने पुडासैनीले जानकारी दिए। कागेश्वरी मनोहरा नगरपालिकामा हाल कुल ४ हजार ३८५ जना सामाजिक सुरक्षा भत्ता लाभग्राही छन्।