हेटौंडा, भदौ ३ :

बागमती प्रदेशमा एमाले नेतृत्वको सरकार गठन हुने पक्का भएको छ। प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद किरण थापाले आफ्नो दाबी पेस गरेका छन्। उनले बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई भेटेर बहुमत सदस्यको हस्ताक्षर सहित दाबी पेश गरेका हुन् ।

राप्रपाले सहयोग गरेसंगै बागमती प्रदेशमा एमाले सांसद थापाले बिहीबार दिउँसो ४ बजे शपथ लिने छन्।प्रदेशमा नेकपा र एमालेबीचको केन्द्रीय सहमति अनुसार एमालेले सरकारको नेतृत्व गर्ने अवसर पाएको हो।

बागमती प्रदेशमा १०४ सांसद हाल कायम रहेका छन्। सरकार गठनका लागि ५३ मतको आवश्यक पर्छ। नेकपासँग २६, एमालेसँग २५ र राप्रपासँग १२ सांसद रहेको छ। जुन सरकार निर्माणको लागि पर्याप्त छ।

काङ्ग्रेसले एमालेसँगको सत्ता सहकार्य तोडेसँगै बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सबै दलसँग समर्थन जुटाउने प्रयास गरे पनि नजुटेपछि राजीनामा दिन बाध्य भएका थिए।