काठमाडौं, भदौ ३ :

कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्र स्थायी बसोबास गर्दै आएका विद्यावारिधि (पीएचडी) उपाधि प्राप्त गरेका व्यक्तित्वहरूलाई सम्मान गर्ने भएको छ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले एक सूचना जारी गर्दै आगामी असोज २ गते आयोजना हुने शिक्षा दिवस समारोहमा विभिन्न प्राज्ञिक क्षेत्रमा विद्यावारिधि उपाधि हासिल गरेका नगरवासीलाई कदरस्वरूप सम्मान गर्न लागेको हो।

सम्मान कार्यक्रममा सहभागी हुन इच्छुक तथा योग्य व्यक्तिहरूले यही भदौ १० गतेभित्र नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन दिनुपर्नेछ। आवेदनसँगै विद्यावारिधि प्राप्तकर्ताको पूरा नाम नेपाली र अंग्रेजी दुवै भाषामा, स्थायी ठेगाना (वडा नम्बर र टोल), शोधग्रन्थको शीर्षक (थेसिस शीर्षक), उपाधि प्रदान गर्ने विश्वविद्यालयको नाम तथा देश, उपाधि हासिल गरेको वर्ष र सम्पर्क नम्बर उपलब्ध गराउनुपर्नेछ।

त्यसैगरी, आवेदनका साथ नागरिकता प्रमाणपत्र र विद्यावारिधि प्रमाणपत्रको प्रतिलिपिसमेत पेस गर्नुपर्ने शिक्षा दिवस समारोह समितिकी सदस्य सचिव कुमारी सरिता जोशीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

नगर क्षेत्रमा उच्च शिक्षा हासिल गरेका व्यक्तित्वहरूको पहिचान गरी उनीहरूको योगदानको कदर तथा सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।