
फाइल तस्बिर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरीको स्रोत–साधन खरिदमा बिचौलियाको प्रभाव रहेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले प्रहरी प्रधान कार्यालय नै निश्चित बिचौलियाको प्रभावमा रहेको दाबी गरे।
सुनारले प्रहरीको स्रोत–साधन खरिदसम्बन्धी १५ दिनभित्र जानकारी उपलब्ध गराउन समितिले दिएको निर्देशन कार्यान्वयन भए–नभएको प्रश्न गर्दै त्यसबीच करोडौँ रुपैयाँका टेन्डर आह्वान गरिएको बताए। अघिल्लो बैठकमा प्रहरी अधिकारीसँग राखेका प्रश्नमा आफू अझै दृढ रहेको भन्दै उनले कसैलाई मानमर्दन भएको भए अदालत जान चुनौती दिए।
बैठकमा उनले समाज कल्याण परिषद्लाई ‘सबैभन्दा बदनाम संस्था’को संज्ञा दिँदै गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले वैदेशिक सहायता उपयोग गरेको विषयमा प्रभावकारी अनुगमन र लेखापरीक्षण हुनुपर्ने माग गरे। दलित, गरिब तथा सीमान्तकृत समुदायका नाममा आउने रकम लक्षित वर्गसम्म पुगे–नपुगेको यकिन गर्नुपर्ने उनको भनाइ थियो।
सुनारले एनजिओका कतिपय कार्यक्रमले जातीय तथा साम्प्रदायिक विभाजन बढाउने गतिविधि गरेको आरोप लगाउँदै त्यस्ता गतिविधि नियन्त्रण गर्न राज्य गम्भीर हुनुपर्ने बताए। साथै, वैदेशिक सहायता, अनुदान तथा ऋणबाट सञ्चालित परियोजनाको उपयोगिता र आर्थिक प्रतिफलबारे समेत नियमित मूल्यांकन गर्नुपर्नेमा जोड दिए।
पोखरा र भैरहवा विमानस्थलजस्ता वैदेशिक ऋणमा निर्माण भएका ठूला पूर्वाधारको सञ्चालन अवस्था र प्रतिफलबारे प्रश्न उठाउँदै उनले ऋणको भार मात्रै बढ्ने गरी परियोजना सञ्चालन गर्न नहुने बताए।