काठमाडौं, भदौ ५ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ। वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी बैठकमा पार्टीका दस्तावेज, सांगठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम र अभियानलगायतका विभिन्न समसामयिक विषयमा विस्तृत छलफल हुने कार्यसूची तय रहेको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी उम्मेदवार छनोट रूपरेखा अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्नेबारे छलफल हुनेछ।

यसैगरी सांगठनिक व्यवस्थापन तथा मनोनयन अन्तर्गत केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखहरूको मनोनयन गर्ने कार्यसूची छ। साथै, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्यहरूको मनोनयन प्रक्रिया पनि अघि बढाइने जनाइएको छ। 

यसैगरी पार्टीको आधिकारिक मुखपत्रका रूपमा ‘स्वतन्त्र’नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावमाथि पनि छलफल महामन्त्री आचार्यले बताए।