काठमाडौं, भदौ ५ :

कागेश्वरी मनोहरा नगर अस्पतालबाट एक महिनामै २५ हजारभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन्। अस्पतालका अनुसार गत साउन महिनामा मात्रै २५ हजार ७२३ जना बिरामीले विभिन्न स्वास्थ्य सेवा लिएका हुन्।

अस्पतालको तथ्यांकअनुसार सेवा लिने कुल बिरामीमध्ये १५ हजार ७८४ जनाले स्वास्थ्य बीमामार्फत सेवा लिएका छन् भने ९ हजार ९३९ जना सामान्य बिरामीका रूपमा अस्पताल पुगेका छन्। सो अवधिमा ११२ जना बिरामी इनपेन्ट तथा एचसीयूमा भर्ना भई उपचार गराएका थिए।

विभागगत तथ्यांकअनुसार अस्पतालमा सबैभन्दा बढी बिरामीको चाप जेनेरल ओपीडीमा देखिएको छ। साउनमा उक्त विभागबाट सामान्यतर्फ १ हजार ९०४ र स्वास्थ्य बीमामार्फत ५ हजार १०२ गरी कुल ७ हजार ६ जना बिरामीले सेवा लिएका छन्।

त्यस्तै, अस्पतालको ल्याब सेवामा सामान्यतर्फ १ हजार ९४८ र बिमामार्फत ४ हजार ५४४ गरी उल्लेख्य संख्यामा बिरामीले सेवा लिएका छन्। अर्थोपेडिक विभागमा सामान्यतर्फ ५९६ र बीमामार्फत २ हजार ८६३ जना पुगेका थिए।

फिजियोथेरापी सेवाबाट मात्रै २ हजार ३१९ जना सामान्य बिरामीले उपचार सेवा लिएका छन्। एक्स–रे सेवाबाट २ हजार ४९९ तथा यूएसजी सेवाबाट १ हजार ६८८ जनाले सेवा लिएको अस्पतालको तथ्यांकमा उल्लेख छ।

यसैगरी, बालरोग, स्त्री तथा प्रसूति रोग, दन्त उपचार (डेन्टल ओपीडी), आकस्मिक सेवा तथा नाक, कान, घाँटी (ईएनटी) लगायतका विभागबाट पनि सयौं बिरामीले उपचार सेवा लिएका छन्।

अस्पतालले नियमित उपचार सेवासँगै खोप, पोषण, एन्टि–बाइट, डट्सलगायत निःशुल्क स्वास्थ्य सेवासमेत उपलब्ध गराउँदै आएको जनाएको छ। यी सेवाबाट समेत ठूलो संख्यामा नागरिक लाभान्वित भएको नगर अस्पतालका कार्यकारी निर्देशक राम प्रसाद पौडेलले बताए ।

एक महिनाको तथ्यांकले अस्पतालप्रति स्थानीय नागरिकको पहुँच र स्वास्थ्य सेवाको माग बढ्दै गएको उनको भनाइ छ। स्वास्थ्य बीमामार्फत सेवा लिनेको संख्या उल्लेख्य रहेकाले अस्पतालमा बीमा कार्यक्रमअन्तर्गतको सेवा पनि प्रभावकारी रूपमा सञ्चालन भइरहेको जनाइएको छ।