काठमाडौं, भदौ ६ :

बलात्कारपछि हत्या गरिएकी बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षिया गरिमा चौधरीका बुवा मनोज चौधरी र आमा मानमती चौधरीसंग  गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा  गृह मन्त्रालय सिंहदरबारमा अहिले वार्ता जारी छ ।  

बालिका गरिमा हराएको तीन दिनसम्म पनि प्रहरीले प्रभावकारी रूपमा खोजी नगरेको तथा परिवारले किटानी जाहेरी दिएका व्यक्तिलाई समयमै अनुसन्धानको दायरामा नल्याएको आरोप पीडित परिवारले लगाउँदै आएको छ ।

गएको मंगलबार साँझ बालिकाको शव भेटिएपछि प्रहरीले जीतपुर सिमरा–२ का दुई किशोरलाई पक्राउ गरिसकेको छ ।

घटनाबारे अनुसन्धान अघि बढिरहेका बेला पीडित परिवारलाई काठमाडौँ ल्याइएको हो ।

गरिमाको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै  काठमाडौँको माइतीघरमा समेत प्रदर्शन गरिएको छ । स्वतन्त्र युवाहरूले आयोजना गरेको प्रदर्शनमा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरिएको छ ।

प्रदर्शनकारीहरूले बालिकाको खोजी तथा अनुसन्धानमा प्रहरीबाट भएको भनिएको ढिलाइबारे समेत प्रश्न उठाएका छन् ।

गरिमाका आमाबुबा आजै वाराबाट काठमाण्डौं आएका हुन् ।