
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले क्यानाडामाथि लगाएको नयाँ चरणको शुल्कलाई आफूहरूलाई दुख दिने र विभाजित गर्ने उद्देश्यले गरिएको गलत आकलन भएको बताएका छन्।
शुक्रबार राति व्यापार वार्ता भंग भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
शनिबार बिहान क्यानाडेली नागरिकलाई सम्बोधन गर्दै कार्नीले भने उनीहरूले धेरै मागे र निकै कम प्रस्ताव गरे। उनले अमेरिकाले कठोर नयाँ शुल्क लगाएपछि क्यानाडा अहिले व्यापार युद्धको अवस्थामा प्रवेश गरेको बताए।
प्रधानमन्त्री कार्नीले आगामी सेप्टेम्बर ८ देखि अमेरिकाले लगाउने शुल्कको एक–एक डलर बराबर जवाफी शुल्क क्यानाडाले पनि लगाउने पुष्टि गरेका छन्। यस अन्तर्गत स्टिल, दुग्ध जन्य पदार्थ, घरेलु उपकरण तथा विद्युतीय सामग्री लगायतका वस्तुमा शुल्क लगाइनेछ।
व्यापार वार्ता भंग भएपछि लामो समयदेखि घनिष्ठ रूपमा एकीकृत रहेका दुई सहयोगी राष्ट्र बीचको व्यापारिक सम्बन्धमा ठूलो असर पर्ने देखिएको छ। यद्यपि विवाद समाधानका लागि अब स्पष्ट बाटो भने देखिएको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
यसै साता सुरुमा दुवै देश बीच व्यापार सम्झौता हुनेमा आशावादी वातावरण बनेको थियो। तर अन्तिम समयमा दुवै पक्षले एकअर्का माथि सम्झौताका सर्तहरू परिवर्तन गरेको आरोप लगाएपछि वार्ता अन्ततः भंग भयो।
वार्ता असफल भएपछि अमेरिकाले क्यानाडाबाट आयात हुने विभिन्न वस्तुमाथि नयाँ ५० प्रतिशत शुल्क लगाएको छ। यसअघि नै क्यानडेली स्टिल, आल्मुनियम, अटोमोबाइल र काठजन्य सामग्रीमा अमेरिकी शुल्क लागू हुँदै आएको थियो।
नयाँ शुल्कको दायरा भने सीमित छ। यसले करिब २० अर्ब अमेरिकी डलर बराबरका क्यानडेली आयातलाई प्रभावित गर्नेछ जुन क्यानाडाबाट अमेरिकामा हुने कुल निर्यातको करिब ५ प्रतिशत हो।
नयाँ शुल्कको प्रभाव पर्ने वस्तुमा मदिरा (वाइन), दुग्धजन्य पदार्थ, सिमेन्ट, कपडा तथा आइस हक्कीका सामग्री लगायत छन्।