
ट्रम्प प्रशासनले अमेरिकामा शरणार्थी स्थितिका लागि आवेदन दिएका वा हाल शरणको स्थिति खोजिरहेका दुई लाखसम्म विदेशी नागरिकको व्यापार तथा पर्यटन भिसा रद्द गर्ने तयारी गरेको छ ।
यदि यस्तो निर्णय कार्यान्वयन भयो भने यो अमेरिकी इतिहासमा एकै पटक ठूलो संख्यामा भिसा रद्द गरिएको घटना हुनेछ र यस विरुद्ध कानुनी चुनौती आउन सक्ने सम्भावना छ।
यदि यस निर्णयलाई कानुनी रूपमा संशोधन गरिएन भने अमेरिकी विदेश मन्त्रालयले आगामी केही हप्ताभित्र सन् २०१६ देखि २०२६ सम्म जारी गरिएका बी१ र बी२ भिसा रद्द गर्ने घोषणा गर्ने अपेक्षा गरिएको छ। यी भिसाधारीहरूले अमेरिकामा शरणका लागि आवेदन दिएका वा हाल आवेदन दिइरहेका छन्।
विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले त्यस्ता विदेशी नागरिकहरूको गैर-आप्रवासी भिसा पहिचान गरी रद्द गरिरहेको बताए । जो छोटो अवधिका लागि भ्रमण कर्ता बनेर अमेरिका आएका थिए तर पछि अमेरिकामा स्थायी रूपमा बस्नका लागि शरणको आवेदन दिएका छन्।
तर उनले कति वटा भिसा रद्द हुन सक्छन् भन्ने संख्याबारे टिप्पणी गर्न अस्वीकार गरे। उनले भने “यो प्रक्रिया निरन्तर चली रहने भएकोले भिसा रद्द हुने संख्या परिवर्तनशील रहनेछ र क्रमिक रूपमा रद्द गरिनेछ ।"
अधिकारीहरूका अनुसार भिसा रद्द हुँदैमा ती व्यक्तिहरूलाई तत्कालै अमेरिकाबाट निर्वासन गरिने भन्ने आवश्यक छैन।
हाल शरणसम्बन्धी मुद्दा विचाराधीन रहेका अधिकांश व्यक्तिहरूको स्थिति पुनः वर्गीकरण गरिनेछ तर उनीहरूले व्यापार वा पर्यटनका लागि प्रयोग हुने बी१ र बी२ भिसा हैसियत भने गुमाउनेछन्। यी अधिकारीहरूले निर्णय अझै अन्तिम नभएकाले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा यस्तो जानकारी दिएका हुन्।