काठमाडौं, भदौ ९ :

राष्ट्रिय सभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  
सदस्य खम्बबहादुर खातीले बाजुरा जिल्लामा स्वास्थ्यकर्मी (चिकित्सक) पठाउन सरकारसँग माग गरे ।  

सदस्य गीता देवकोटाले बालिका माथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिनुपर्ने बताइन् । 

सदस्य जगत तिमल्सिनाले २१ वटा दूतावासमा राजदूत नभएको गुनासो गरे।  

सदस्य धर्मेन्द्र पासवानले रौतहटको लालबकैया नदी नियन्त्रण गर्न सरकारसँग माग गरे ।  

सदस्य महन्थ ठाकुरले बालिका बलात्कारको घटनामा दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे ।

सदस्य  मीनासिंह रानाले महिला तथा बालबालिकामाथि हुने  हिंसा चुनौतीपूर्ण बन्दै गएको बताइन् ।
 
सदस्य रञ्जित कर्णले राजविराज भारदह सडकखण्डको अवस्था जीर्ण रहेको, राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल शय्या अभाव भएको बताए ।  

सदस्य रेखाकुमारी झाले जनकपुरको प्रादेशिक अस्पतालमा गर्भवती महिलाको स्वास्थ्य उपचारमा चिकित्सकले ध्यान नदिएको गुनासो गरिन् ।

सदस्य रोशनी मेचेले बलात्कारका घटना बढ्ने तर न्याय नपाउने अवस्थाले चिन्तित बनाएको जानकारी दिइन् ।

सदस्य वासुदेव घिमिरेले दाङका वसन्त कालाथोकीको शङ्खमूलको एक छात्रवासमा कुटपिटबाट निधन भएको र उक्त दुःखद् खबरपछि उनकी आमाले पनि आत्महत्या गरेकाले कुटपिट गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे ।

सदस्य सम्झना देवकोटाले नैतिक शिक्षाका अभावमा बलात्कारका घटना बढेकाले कडा सजायको माग गरिन्।

सदस्य सोमनाथ पोर्तेलले बलात्कारपछि हत्या भएकी बालिकाको आमाबाबुलाई हामी खुसी छौँ भनी भन्न लगाउने अधिकारीको तरिकाप्रति आपत्ति जनाए।