काठमाडौं, भदौ १० :

प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले यसअघि भदौ ११ गते बस्ने गरी बैठक स्थगित गरे लगत्तै संघीय संसद् सचिवालयले अर्को सूचना जारी गर्दै बैठक अनिश्चितकालका लागि स्थगित गरेको हो।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा हालैको बाढीपहिरोबाट उत्पन्न परिस्थितिका कारण सरकारसँगै सभाका सदस्यहरू पनि राहत, उद्धारलगायतका कार्यमा संलग्न हुनुपर्ने भएकाले निर्धारित मिति र समयमा बैठक बस्न नसक्ने जनाइएको छ।

अब संघीय संसद् सचिवालयले अर्को सूचना प्रकाशित गरेपछि मात्र प्रतिनिधिसभाको बैठक बस्नेछ।

बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कामलाई प्रभावकारी बनाउन सांसदहरूलाई समेत सक्रिय रूपमा परिचालन गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ।