
चितवन, भदौ ११ :
चितवनमा बाढीले बगाएर ल्याएको शवबाट सुनका गहना निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। शवबाट गहना निकालिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
सार्वजनिक भिडियोमा दुई जना व्यक्तिले शवलाई उल्टैपल्टाई शरीरमा लगाइएका सुनका गहना निकालिरहेको देखिन्छ। भिडियो सार्वजनिक भएपछि घटनाको सामाजिक सञ्जालमा व्यापक आलोचना र निन्दा भएको थियो।
विपद्का बेला उद्धार तथा राहतमा सहयोग गर्नुपर्ने अवस्थामा मृतकको शवबाट गहना लुटिएको घटनाले मानवीय संवेदनामाथि गम्भीर प्रश्न उठाएको छ। घटनाप्रति स्थानीयवासी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत आक्रोश व्यक्त गरेका छन्।