
सर्वोच्च अदालतले कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवहाक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन रोक्न माग गर्दै दायर गरेको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बिहीबार न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले यस्तो आदेश दिएको हो।
यससँगै सभापति गगन थापा नेतृत्वको कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय भएको १५औँ महाधिवेशनको तयारी अघि बढाउने बाटो खुलेको छ। सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आदेशसँगै कांग्रेसको नियमित दलीय गतिविधि अघि बढाउन कुनै रोकतोक रहने छैन।
वैशाख ४ गतेको फैसलामाथि पुनरावलोकन गर्न सर्वोच्चले अनुमति दिएपछि देउवा पक्षले महाधिवेशन रोक्न पुरक निवेदन दिएको थियो। अदालतले भने तत्काल महाधिवेशन रोक्नुपर्ने अवस्था नदेखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। देउवा पक्षले गत पुसमा भएको विशेष महाधिवेशन र त्यसबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै आएको छ।
