
भोटेकोशी बाढीले हाइड्रोपावरको टनेलमा थुनिएकाहरुको उद्धार गर्न भारतीय टनेल रेस्क्यु टिम नेपाल आइपुग्दै छ । नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालको अनुरोधमा आवश्यक सामग्रीसहित उक्त टोली पठाउन लागेको बताए।
टनेलभित्र फसेकाहरुको उद्धार गर्न कठिनाइ भएपछि सकारले भारतको सहयोग मागेको हो। धेरैजसोको त नेपाली सेनाले आफ्नो स्रोत साधनले भ्याएसम्म टनेलमा फसेकाहरुको उद्धार गरिसकेको छ ।
यसैगरी भारतले केही बेलिब्रिज पनि नेपाल पठाउँदै छ । बाढीले भत्काएको पुलको स्थानमा तत्काल आवतजावतको व्यवस्था गर्नका लागि बेलिब्रिज पनि सहयोग मागिएको छ । नेपालले शुक्रबार नै भारत र चीनलाई ४२ वटा बेलिब्रिज पठाइदिन आग्रह गर्दै पत्र लेखेको थियो।जैसवालले शुक्रबार साँझसम्म करिब १३ टन राहत सामग्री काठमाडौँ आइपुग्ने बताएका छन्।
यसैबीच बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका २१ जना भारतीय नागरिक स्वदेश फर्केका छन् । तमिलनाडुका उनीहरु दिल्ली ओर्लिएको पनि विदेशमन्त्री एस जयशंकरले जानकारी दिए। उनले सकुशल उद्धारका लागि नेपाली सेना र सरकारलाई धन्यवाद दिएका छन्।