
प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी,पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनासकारी भूकम्पपछिको ठुलो विपद्को घटनाका रुपमा लिँदै राहत वितरण र पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकमा परिषद्का अध्यक्ष ओलीले घटनाबाट दिवंगतहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै खोज,उद्धार,राहत र पुनःनिर्माणका लागि गम्भीरताका साथ काम भइरहेको बताउनुभयो ।
अहिलेको परिस्थितिमा के गर्न पर्छ र के गर्न सकिन्छ ? तीनै तहका सरकारबाट समन्वयतात्मक रुपमा काम गर्नुपर्नेछ,प्रधानमन्त्री ओलीले भन्नुभयो,कसरी जनतालाई छिटोभन्दा छिटोभन्दा छिटो राहत र आवास उपलब्ध गराउन सकिन्छ भन्नेमा हाम्रो ध्यान जानुपर्छ ।
हुन त समाजमा कुरा काट्ने प्रवृत्ति पनि छ तर हामीले त्यसको पर्वाह नगरी सहयोगको प्रवृत्ति बढाएर विपत्तिको मिलेर सामना गर्नुपर्छ ।
प्रधानमन्त्री ओलीले उपत्यकालाई जोड्ने सडकहरुका रोकिएका स्थितिमा दसैँ अगावै सम्पूर्ण प्रयासहरु गरेर नाका बाटाहरु खुलाइएकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय,सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई धन्यवाद दिनुभयो ।
बैठकका निर्णयहरु राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रेस विज्ञप्ति मार्फत् गर्नेछ ।