ललितपुर, भदौ १४ :

नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि आवश्यक परे बाह्य मुलुकको सहयोग लिन सरकारलाई आग्रह गरेका छन्। आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा थापाले आफूले परराष्ट्रमन्त्री शिशिर खनाललाई टेलिफोन गरेर सुरुङभित्र रहेका मानिसहरूको उद्धारमा बाह्य मुलुकबाट समेत सहयोग लिन आग्रह गरेको जानकारी दिए।

‘हामीसँग भएको विज्ञताले मात्र सुरुङमा उद्धार गर्न सम्भव छैन भन्ने जानकारी आएपछि मैले परराष्ट्रमन्त्रीलाई सम्पर्क गरी बाह्य मुलुकबाट मद्दत लिन आग्रह गरेको छु,’ थापाले भने। उनले बाढी, पहिरो र डुबानलगायत प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्ने कांग्रेसको निर्णय रहेको बताए। उद्धार तथा राहत कार्यमा देखिएका कमजोरी र सरकारका काममा रहेका ‘ग्याप’बारे पार्टीले ध्यानाकर्षण गराउने उनको भनाइ छ।

सरकारका काममा रहेका कमजोरी औंल्याउनु आलोचना नभई सहयोग नै भएको थापाले बताए। विपद्का बेला सरकारलाई सहयोग गर्नु प्रतिपक्षी दलको कर्तव्य भएको उल्लेख गर्दै उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा जुट्न आग्रह गरे।

यसैगरी, थापाले हरितालिका तीजलगायतका पर्वहरूलाई सामान्य रूपमा मनाउनसमेत आग्रह गरेका छन्।