
डा. डिल्लीरमण रेग्मी स्मारक तथा पुस्तकालय विकास परिषद्ले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा हालै गएको प्राकृतिक विपत्तिमा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
डिल्लीरमण रेग्मीको २५औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा रेग्मीको योगदानको स्मरण गर्दै भोटेकोसी बाढीबाट ज्यान गुमाएकाहरूप्रति पनि श्रद्धाञ्जली व्यक्त गरी दीप प्रज्वलन गरिएको थियो।
कार्यक्रममा पुस्तकालय विकास परिषद्की अध्यक्ष प्रा. डा. वीणा पौडेल, प्रा. डा. मोहनप्रसाद लोहनी, प्रा. डा. प्रेम खत्री, प्रा. डा. ध्रुव घिमिरे, प्रा. डा. गोपाल पोखरेल, वरिष्ठ साहित्यकार प्रा. डा. रामप्रसाद दाहाल, भोला श्रेष्ठलगायतले विपत्तिका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए।
कार्यक्रममा विपत्तिबाट आक्रान्त परिवार, समाज, गाउँ, सहर हुँदै सिंगो देशले छिट्टै शान्ति र सामान्य अवस्था प्राप्त गरोस् भन्ने कामना गरिएको थियो। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारलाई तीव्र बनाउन र प्रभावितलाई आवश्यक राहत उपलब्ध गराउन आग्रह गरिएको थियो।
विपत्तिको घडीमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई एकजुट भई आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नसमेत कार्यक्रममा आह्वान गरिएको थियो।
‘सेवा नै परम धर्म’ भन्ने भावनालाई आत्मसात् गर्दै सबै मिलेर विपत्तिबाट प्रभावित परिवार तथा समुदायलाई सहयोग गर्दै यस कठिन परिस्थितिबाट बाहिर निस्कनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।