
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोजी, उद्धार, जनधनको सुरक्षा तथा राहत व्यवस्थापनको कार्य निरन्तर चलिरहेको छ । यो कार्यमा ठुलो संख्यामा सुरक्षाकर्मीका साथै राज्यका उपलब्ध स्रोत साधनको प्रयोग गरिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रभावित क्षेत्रमा ७ हजार ९९२ प्रहरी परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयबाट १ हजार ६०२, वागमती प्रदेशबाट २ हजार १८२, गण्डकीबाट १ हजार ३०९, लुम्बिनीबाट ६४० र काठमाडौं उपत्यकाबाट ७५४ जनासहित विभिन्न युनिटबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो।
विपद् व्यवस्थापनका लागि प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र स्थापना गरिएको छ भने डीआईजीको नेतृत्वमा २४सै घण्टा सञ्चालन हुने विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र गठन गरिएको छ। त्यसो त उद्धार र सम्पर्कविहीनको खोजीमा नेपाली सेना र सशस्त्र प्रहरी पनि ठुलो संख्या खटिएका छन् ।
घाइतेको उपचार तथा मृतकको पहिचान र परिवारसँग समन्वयका लागि काठमाडौंका वीर अस्पताल, सिभिल अस्पताल, काठमाडौं मेडिकल कलेज र त्रिभुवन शिक्षण अस्पताललगायतमा विशेष प्रहरी टोली तथा अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोकल डेस्क स्थापना गरिएको प्रहरीले जनाएको छ।
खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन रसुवा, नुवाकोट र धादिङमा १२ वटा ड्रोन, ५ तालिमप्राप्त कुकुर र ७ स्याटेलाइट फोन परिचालन गरिएको छ। घटनास्थल अनुसन्धान तथा मुचुल्काका लागि ६७ जना र शव पहिचान तथा व्यवस्थापनका लागि ७१५ प्रहरी परिचालन भएका छन्। फरेन्सिक विज्ञ तथा नेपाल प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीसमेत प्रभावित क्षेत्रमा खटाइएको छ।
यसैबीच, विपद्को मौका छोपी चोरी, लुटपाट र ठगीमा संलग्न व्यक्तिमाथि प्रहरीले कारबाही तीव्र बनाएको छ। चितवनमा बाढीले बगाएको शवबाट गहना निकाल्दै गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
धादिङमा बाढीले ल्याएको बैंकको सेफ तोडेर रकम हिनामिना गरेको आरोपमा २९ जना नियन्त्रणमा लिई ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। बाढीपीडितका नाममा नक्कली फेसबुक पोस्ट बनाएर रकम असुल्न खोज्ने एक व्यक्ति रामेछापबाट पक्राउ परेका छन्।
बाढीका कारण विभिन्न स्थानमा भौतिक क्षति तथा सडक अवरोध भइरहेका बेला प्रहरीले अवरोध हटाउने, फेला परेका सामग्री सुरक्षित गर्ने र सम्भावित जोखिम न्यूनीकरणमा समेत काम गरिरहेको छ। चितवनको नारायणी नदी आसपास मात्रै ७५७ प्रहरी परिचालन गरिएको छ।
नेपाल प्रहरीले विपद्को संवेदनशील अवस्थामा नागरिकको सुरक्षा, उद्धार तथा राहत वितरणमा निरन्तर खटिएको जनाउँदै प्रभावित क्षेत्रका नागरिकलाई संयमित रहन आग्रह गरेको छ।