
कागेश्वरी-मनोहरा नगरपालिकाले भोटेकोसी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७५ लाख ५५ हजार ५ सय ७५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नगरप्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको दोस्रो बैठकले विनाशकारी बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र पीडित परिवारजनमा समवेदना प्रकट गर्दै राहतका लागि नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षबाट एक महिनाबराबरको सेवा सुविधा तथा अन्य जनप्रतिनिधिबाट सात दिनबराबरको सेवा सुविधा योगदान गर्ने निर्णय गरेको हो।
त्यस्तै, नगरपालिकाअन्तर्गतका नगर अस्पतालसहितका स्थायी, अस्थायी तथा करार कर्मचारी र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट समेत दुईदेखि सात दिनसम्मको पारिश्रमिक सहयोग गर्ने र बाँकी रकम विपद् व्यवस्थापन कोषबाट थप गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ। यही भदौ १० गते बिहान एक्कासी भोटेकोसी-त्रिशूलीमा आएको बाढीमा परी ठुलो जनधनको क्षति भएको छ ।
यस्तै बैठकले वडा नं. ४ अन्तर्गत डाँछी–भद्रवास शहरी खानेपानी आयोजनाको पानी ट्यांकी सञ्चालनमा विद्युत् आपूर्ति समस्या समाधान गर्न फ्रिज लाइन विस्तार गर्ने निर्णय गरेको छ। विद्युत् लाइन विस्तार गर्दा स्थानीय प्रभावित समुदायलाई घर निर्माण स्वीकृति, सडक विस्तार तथा वित्तीय कारोबारलगायतका विषयमा असर नपर्ने गरी काम गर्न बैठकले निर्देशन समेत दिएको छ।
तीन स्वास्थ्य चौकीलाई सुरक्षित गर्भपतन सेवाको अनुमति
सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका, २०७८ अनुसार नगर क्षेत्रका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा विस्तार गर्ने पनि उक्त बैठकले निर्णय गरेको छ।
जसअनुसार १० हप्तासम्मको मेडिकल एबोर्सन सेवा आलापोट, डाँछी र गोठाटार स्वास्थ्य चौकीबाट हुनेछ भने १२ हप्तासम्मको गर्भपतन सेवा तथा MVA र CAC सेवा कागेश्वरी मनोहरा नगर अस्पताल, मुलपानीमा हुनेछ।
उक्त सेवा सञ्चालनका लागि दक्ष चिकित्सकको रुपमा डा. रञ्जु सिंह र डा.सुप्रिया पाण्डेलाई तोकिएको छ । आवश्यक चिकित्सकलाई सूचीकृत गर्ने र मेडिकल एबोर्सन सेवाका लागि आवश्यक स्वास्थ्यकर्मीलाई समेत सूचीकृत गर्ने निर्णय समेत भएको छ।
यस्तै बैठकले कागेश्वरी–मनोहरा नगरपालिका वडा नं. ७ लाई बालश्रममुक्त वडा घोषणा गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको नगर प्रवक्ता हरिभक्त पुडासैनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।