
प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्था र सरकारी कोषमा जम्मा भएको सहयोग रकमबारे जानकारी गराएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले विपद्पछिको उद्धार, राहत तथा पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए। उनका अनुसार नुवाकोटका १९ वटा अस्थायी आश्रयस्थलमा हाल २ हजार ६ सय ५३ जना प्रभावित नागरिकले आश्रय लिइरहेका छन्।
बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग जुटाउने क्रम जारी रहेको उनले बताए। हालसम्म राहत कोषमा ७ अर्ब ८८ करोड ५७ हजार २१७ रुपैयाँ जम्मा भएको विवरण प्रधानमन्त्रीले प्रस्तुत गरे। यसबाहेक ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर पनि जम्मा भएको उनले जानकारी दिए।
प्रधानमन्त्रीका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई राहत तथा उद्धारका लागि १ अर्ब रुपैयाँ निकासा गरिएको छ। उक्त रकममध्ये ६ करोड ७५ लाख रुपैयाँ नुवाकोट, धादिङ, गोरखा र तनहुँलगायत १५ वटा स्थानीय तहमा निकासा भइसकेको छ।