राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको विपद् व्यवस्थापनमा सरकारलाई बल पुग्ने गरि काम गर्ने निर्णय गरेको छ ।
बिहीबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा सचिवालय बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसबाट सिर्जित अवस्थाबारे समिक्षा गर्दै विपद् व्यवस्थापनमा सरकारलाई बल पुग्ने गरी काम गर्ने निर्णय गरेको हो । बैठकमा सरकारमा पार्टीको प्रतिनिधित्व गरिरहनुभएका उपसभापति एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खोजी, उद्धार, राहत तथा सरकारी कार्यप्रगतिको जानकारी गराएका थिए । विपद् व्यवस्थापन तथा राहतका लागि सरकारको कोषमा हालसम्म ८ अर्ब रुपैयाँ संकलन भएको जानकारी प्राप्त भएको रास्वपा प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।
त्यस्तै सिमित स्रोतसाधनका बाबजुद सरकारले उद्धार र राहतमा देखाएको अगुवाई र तदारुकताप्रति सचिवालय बैठकले सन्तोष व्यक्त गर्दै धन्यवाद दिएको उनले बताए । खोजी र उद्धारलाई निरन्तरता दिँदै अब प्रभावितहरूको पुनस्र्थापना तर्फ पनि सँगसँगै तयारी अघि बढाउनुपर्नेमा बैठकले जोड दिएको प्रवक्ता खरेलले बताए।
बैठकमा पार्टी सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल र राजनीतिक दलहरूले देखाएको ऐक्यबद्धताबारे ब्रिफिङ गर्नुभएको प्रवक्ता खरेलले जानकारी दिए ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि दीर्घकालीन रूपमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्ने पार्टीको निष्कर्ष रहेको उनको भनाइ छ । साथै रास्वपाले तिनै तहका सरकारलाई दरिलो र पूर्ण साथ दिने निर्णय गरेको उनले बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपति पौडेलले गुरू पुरोहितको हातबाट शुभ साइतमा टीका ग्रहण गर्ने
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, भोलिसम्ममा डिस्चार्ज गर्ने तयारी
सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनबाट राहत सामग्री