
ललितपुरको सातदोबाटोमा बुधबार सहिदको सालिक अनावरण गर्ने कार्यक्रम अन्तिम समयमा रोकिएको छ।
सालिकमा सहिदको अनुहार नमिलेको भन्दै परिवारजनले असन्तुष्टि जनाएपछि अनावरण रोकिएको हो। परिवारले सालिक सच्याएर मात्रै अनावरण गर्नुपर्ने अडान लिएपछि निर्धारित कार्यक्रममा पुगेका गृहमन्त्री सुधन गुरुङ पनि सालिक अनावरण नगरी फर्किएका छन्।
सहिद खतिवडाकी आमा तथा सांसद रचना खतिवडाले सालिक निर्माणका क्रममा नै अनुहार नमिलेको विषयमा आफूले जानकारी गराएको बताइन्। उनका अनुसार सालिकमा कसैको पनि अनुहार स्पष्ट रूपमा नमिलेको भन्दै अनावरणअघि नै सच्याउन आग्रह गरिएको थियो।
‘सहिदको सालिक भनेको परिवारका लागि मात्र होइन, उहाँलाई सम्झिने सबैका लागि भावनासँग जोडिएको विषय हो,’ उनले भनिन्, ‘अनुहार नै नमिलेपछि त्यसलाई जस्ताको तस्तै अनावरण गर्नु उचित हुँदैन।’
परिवारजनको आग्रहपछि निर्माण समितिले एक महिनाभित्र नयाँ सालिक तयार गर्ने जनाएको छ।सालिक तयार भएपछि परिवारजनसँग समन्वय गरेर पुनः अनावरणको मिति तय गरिने बताइएको छ।