
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय गाडी दुर्घटनामा मृत्यु भएका चारैजनाको सनाखत भएको छ । घाइते चारैजनाको पहिचानसमेत खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ निवासी २४ वर्षीय नरबहादुरसिंह ठकुरी, धनुषाको धनुषाधाम नगरपालिका–४ निवासी ४३ वर्षीय सुरज भट्टराई, पर्साको छिपहरमाई–२ टिहुकी निवासी ४४ वर्षीय भुवनेश्वर साह कानु र बाराको परवानीपुर–३ लिपनीमाल निवासी ३२ वर्षीय सरफरोस मियाँ रहेका छन् । उनका अनुसार मृतकका शव हेटौँडा अस्पताल ल्याइएको छ ।
घाइते चालक बाराको कलैया उपमहानगरपालिका–२४ निवासी करिब २० वर्षीय अमीर अन्सारी, हेटौँडा उपमहानगरपालिका–११ निवासी २३ वर्षीया कल्पना तामाङ र मकवानपुरगढी गाउँपालिका–१ निवासी २३ वर्षीय राजकुमार स्याङ्तानको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
बाराको महागढीमाई नगरपालिका–११ निवासी २१ वर्षीया बबिया कुमारी यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार अन्सारी र स्याङ्तानको अवस्था गम्भीर तथा यादवको अवस्था मध्यम छ ।
हेटौँडा अस्पतालमा उपचाररत यादवले रासससँग कुरा गर्दै आफू काठमाडौँमा बसेर लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेको र परीक्षा दिन वीरगञ्ज जाँदै गर्दा दुर्घटनामा परेको बताए । गाडी सडकबाट खसेर पल्टिँदै गर्दा झ्यालबाट बाहिर निस्कन सफल भएको उनको भनाइ छ ।
दुर्घटनाअघि गाडी तीव्र गतिमा गुडिरहेको यादवले बताए । प्रहरीले भने दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।
काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी दिउँसो २ बजे हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डबाट करिब एक हजार मिटर तल खसेको थियो । गाडीमा चालकसहित आठ जना सवार थिए ।