
गृहमन्त्री सुधन गुरुङले मङ्गलबार जुद्ध बारुण यन्त्र भक्तपुर कार्यालयको स्थलगत अवलोकन गरेका छन् ।
भक्तपुरको दूधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयमा पुगेका गृहमन्त्री गुरुङलाई कार्यालय प्रमुख विजय धौभडेलले दमकलको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए ।
गृहमन्त्री गुरुङले आगलागी भएमा अग्नि नियन्त्रणका लागि ‘ड्रोन’ प्रविधि आइसकेको बताउँदै त्यसतर्फ पनि सरकारले ध्यान दिने बताए । उनले दमकलको अवस्थाका बारेमा चासो लिनाका साथै समस्या समाधानका लागि आफू लाग्ने बताए ।
कार्यालयका प्रमुख धौभडेलले बेल्जियमको समूहले अग्नि नियन्त्रकलाई तालिम दिने गरेको जानकारी गराएका थिए । उनले दुईवटा ड्रोन ल्याउन सके अग्लो ठाउँमा लाग्ने आगो नियन्त्रणका लागि सहज हुने बताए । यस वर्ष सरकारले प्रविधि एवं उपकरण खरिदका लागि रु ९४ लाख विनियोजन गरेको छ । पुराना दमकलको सङ्ग्रहालय निर्माण गर्न र कर्मचारीको समस्या समाधानमा चासो दिन उनले आग्रह गरे ।
गृहमन्त्री गुरुङ दमकलको अवलोकनपछि राति नै नवदुर्गा मन्दिर पुगेका थिए । गृहमन्त्रीले नवदुर्गा मन्दिरमा दसैँको नवमीका दिन राति बलि दिने खमेय (राँगो) का बारेमा जानकारी लिएका थिए । नवदुर्गा देवगणका तर्फबाट नारायण वनमालाले नवदुर्गा जात्रा एवम् पर्व सञ्चालनका लागि सरकारले चासो दिनुपर्ने बताए ।
यसबीच गृहमन्त्री गुरुङले कमलविनायक बजार र कमलपोखरीको अवलोकन गरे । सो अवसरमा सङ्घीय सांसद रुकेश रञ्जित, गङ्गालक्ष्मी अवाललगायतले भक्तपुरको समग्र अवस्थाका बारेमा उनलाई जानकारी गराएका थिए ।