मुस्ताङ, भदौ ३१ :

जलवायु परिवर्तन सम्मेलन गर्ने एक वर्षअघिदेखिको घरपझोङ गाउँपालिकाको सपना पूरा भएको छ । जलवायु परिवर्तनको असरबाट नेपालमात्र नभई विश्व नै प्रभावित भइरहेका बेला भएको सम्मेलनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरबाट समेत निकै चासोका साथ हेरिएको छ । गत वर्षकै भदौ अन्तिममा गरिन लागेको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ जेनजी आन्दोलनका कारण स्थगित गरिएको थियो ।

जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेको हिमाली जिल्ला मुस्ताङमा उक्त सम्मेलन गर्नैपर्छ भन्ने जिल्लावासी र घरपझोङ पालिकाका जनप्रतिनिधिको एकै मतका कारण सम्मेलन सम्भव भएको हो । सम्मेलन जलवायु सङ्कटका मुद्दा उठान गर्ने मञ्चमात्रै थिएन, यसले मुस्ताङमा एकैसाथ सातै प्रदेशका सयौँ स्थानीय तहका जनप्रतिनिधिलाई एउटै मञ्चमा उतार्यो ।

जलवायु परिवर्तनबाट भएको असरसम्बन्धी मुद्दालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरसम्मै पुर्याउने लक्ष्यसहित गाउँपालिकाले सङ्घीय मामिला मन्त्रालयको समन्वयमा ७५३ वटै स्थानीय तहलाई पत्रचार गरेकामा ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका पदाधिकारी सम्मेलनमा उपस्थित भई ऊर्जा प्रदान गरे ।

मुलुककै धार्मिक, सामाजिक र सांस्कृतिक हिसाबले महत्त्वपूर्ण मानिएको मुस्ताङ आफैँ पनि सामरिक महत्तवपूर्ण भूभागका रूपमा रहिआएको छ । सम्मेलनमा आउने पाहुनाको आवास र खानपान व्यवस्थापन निकै चुनौती भए पनि यहाँका होटलद्वारा बिर्सनै नसकिने न्यानो आतित्थ्य प्रदान गरियो ।

सम्मेलनमा सहभागी हुने अधिकांशले प्रसिद्ध मुक्तिनाथको दर्शनका साथै मुस्ताङको स्याउ बगैँचा र यहाँको भौगोलिक सुन्दरतामा रम्ने अवसर प्राप्त गरे । सम्मेलन उद्घाटनअघि पालिका भवनबाट स्थानीय रहनसहन, वेशभूषा र सांस्कृतिक चहलपहल झल्कने झाँकीसहितको प्रभातफेरीसहितको र्याली सम्मेलनस्थल कभर्डहल पुगेको थियो ।

लगत्तै प्रमुख अतिथि सङ्घीय  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्दै  जलवायु चुनौतीको सामाना गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताइन् ।

त्यस अवसरमा सम्मेलन सफलताका लागि प्रधानमन्त्री वालेन्द्र शाहले पठाएको शुभकामना सन्देश बाचन गरियो । यसअघि गाउँपालिका उपाध्यक्ष जमुना थकालीले सम्मेलन आयोजना गर्नुपर्ने कारणबारे सहभागीलाई जानकारी गराइकी थिइन् ।

सम्मेलनमा प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीलगायत केही प्रदेश, जिल्ला तह र स्थानीय तहका जनप्रतिनिधिले जलवायुबाट नेपालमा परेको असरबारे आफ्ना अनुभव र अनुभूति सुनाए । उद्घाटन सत्रलगत्तै सुरु भएको प्राविधिक सत्रमा विषयविज्ञका रूपमा सहसचिव हरिप्रसाद शर्मा, प्रा डा विनोद दवाडी, विज्ञ डा कृष्णचन्द्र देवकोटा र सहसचिव गणेशप्रसाद भट्टले जलवायु परिवर्तनले पारेको असरसम्वन्धी विषयगत कार्यपत्र प्रस्तुत गरे।

त्यसपछि भएको समूहगत/सत्र छलफलमा पालिका अध्यक्ष, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका प्रतिनिधिले जलवायु परिवर्तनबाट नेपालको हिमाली क्षेत्रमात्र नभई स्वास्थ्य, सामाजिक र सांस्कृतिक क्षेत्रमा परेको असरबारे गहन विश्लेषण गरे । सम्मेलनको अन्त्यमा आज घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३ को साझा घोषणपत्र जारी हुने कार्यसूची रहेको प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए ।