काठमाडौं, भदौ ३१ :

भोटेकोशी बाढीपीडितको सहयोगार्थ राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीहरूको तर्फबाट सरकारलाई १५ लाख ७४ हजार ५४७ रूपैयाँको चेक हस्तान्तरण गरिएको छ । 

रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित नागरिकका लागि करिब ६ सय जना पूर्व कर्मचारीका तर्फबाट संकलन गरिएको उक्त रकमको चेक अध्यक्ष दिनेश विक्रम थापाले आज सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।

मन्त्री श्रेष्ठले राज्यलाई अप्ठेरो पर्दा दिएको साथ र सहयोगका लागि संघ र सहयोगी मनहरूलाई धन्यवाद दिए । साथै बैंकिङ क्षेत्रको अनुभव राज्यको लागि उपयोगी हुने र राज्यले त्यसको उपयोग गर्नु पर्ने कुरामा उनले जोड दिए ।

अध्यक्ष थापाले भने, ‘ हिमाली सुनामीबाट बिचल्लीमा परेकाहरुको सहयोग गर्नु सबैको कर्तव्य हो , मानवीय भावनाले प्रेरित भएर नै सहयोग संकलन गरेका हौं ।’  उक्त अवसरमा संघको केन्द्रीय समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

बि.सं. २०५५ मा स्थापित राष्ट्रिय वाणिज्य बैंक पूर्व कर्मचारी संघमा झण्डै ३ हजार सेवानिवृत्त कर्मचारी संगठित छन् । मेचीदेखि महाकालीसम्म ३७ वटा इकाइहरू मार्फत संघले सेवानिवृत्त कर्मचारीहरूलाई विभिन्न सामाजिक कार्यमा सक्रिय गराउँदै आएको छ । 

"खुसीले वाँचौँ" भन्ने मूल नारा अघि सार्दै सेवानिवृत्त कर्मचारीहरूको शारीरिक तथा मानसिक स्वास्थको लागि संघले पूर्व कर्मचारीहरूको नियमित भेटघाटको व्यवस्था गरी विभिन्न समयमा स्वास्थ शिविर, सचेतना कार्यक्रम, साहित्यिक तथा साङ्गीतिक कार्यक्रम, पदयात्रा, तिर्थयात्रा लगायतका कार्यक्रममा सहभागी गराउँदै आएको छ ।