
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औं केन्द्रीय महाधिवेशन अन्तर्गत असोज ३ र ४ गतेदेखि सुरु हुन गइरहेको वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै निर्वाचन समितिले वडा अधिवेशन लगायतका अन्य अधिवेशनको तयारी पूरा भएको जनाएको हो ।
महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्र सभापति र पालिका सभापतिसहित ६ हजार ५२८ प्रतिनिधि चयनको अनुमान गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए । यस बाहेक विदेशीस्थीत जनसम्पर्क समिति/भातृ संस्था/शुभेच्छुक संस्था लगाएतको संख्या जोड्दा करिव ७ हजार महाधिवेशन प्रतिनिधि रहन सक्ने उनले बताए । उनले रसुवा, नुवाकोट र धादिङ लगायतका केही बाहेक ८ लाख ७० हजार क्रियाशील सदस्य रहेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले केन्द्रीय महाधिवेशन सम्पन्न गर्न आवश्यक महाधिवेशन प्रतिनिधि वडा, क्षेत्र र प्रदेशको निर्वाचन प्रक्रियाबाट तयार हुने भएकाले सोही आधारमा निर्वाचन अघि बढाइएको बताए ।
उनले बाढी प्रभावित धादिङमा जम्मा दुईवटा गाउँपालिकामा मात्र केही अप्ठ्यारो रहेको र अन्य स्थानमा खासै असर नरहेको तथा नुवाकोटमा मुख्यतया २ नम्बर वडाबाहेक अन्य वडाहरूमा अधिवेशन गर्न कुनै बाधा नदेखिएको बताए ।