भक्तपुर, असोज १ :

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन् ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ कलेजको शैक्षिक कार्यक्रममा आज उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दा उनले सो कुरा बताएका हुन् ।

भोटेकोशी बाढी तथा कृष्णभिर र मेलम्ची क्षेत्रमा भएका विपद्का घटनाले पूर्वाधार निर्माण, वातावरण र विपद् व्यवस्थापनसँग सम्बन्धित विषयमा थप अध्ययन आवश्यक भएको उनले बताए ।

अध्यक्ष बिजुक्छेले “विपद्का घटनालाई केवल प्राकृतिक विपद्का रूपमा हेर्न हुँदैन, यो इन्जिनियरिङसँग सम्बन्धित विषय हो, भने ।  हाम्रो इन्जिनियरिङमै त्रुटि भयो कि, सरकारको गम्भीरता नपुगेका कारण यस्तो भइरहेको छ कि ! सबै विषयमा गम्भीर अध्ययन हुनुपर्छ ।”

उहाँले भक्तपुरलाई ‘टेस्ट ट्युब’अर्थात् नयाँ अभ्यास र प्रयोगका लागि उपयुक्त स्थानका रूपमा विकास गर्न खोजिरहेको बताउँदै सानो भूगोल, तुलनात्मक रूपमा कम जटिलता र राजधानी काठमाडौँसँगको निकटताका कारण नयाँ योजना तथा अभ्यास सञ्चालन गर्न भक्तपुरमा सहज वातावरण रहेको बताए ।

भक्तपुरमा सञ्चालन भएका कतिपय अभ्यासलाई अन्य स्थानीय तहले पनि आफ्नो ठाउँमा लागू गर्न सके जनतालाई सहज हुने बताए ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेले कलेजको शैक्षिक कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मानपत्र वितरण गरे ।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप इन्जिनियरिङ कलेज स्थानीय तहबाट सञ्चालित देशकै पहिलो प्राविधिक कलेज भएको बताए।

उनले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको परिकल्पनामा भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन स्थापना भएको ख्वप सर्कलअन्तर्गतका शैक्षिक संस्थाले सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजबाट हालसम्म पाँच हजार ६३५ जना र ख्वप कलेज अफ इन्जिनियरिङबाट दुई हजार ९५९ जना विद्यार्थीले अध्ययन पूरा गरी दुवै कलेजबाट छ हजारभन्दा बढी इन्जिनियर उत्पादन भइसकेको बताइएको थियो ।