काठमाडौं, असोज १ :

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया केही समय स्थगित गरी पार्टीभित्र निर्णायक वार्ता र संवाद अघि बढाउन सभापति गगनकुमार थापालाई आग्रह गरेका छन्।

खड्काले बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पार्टी एकता कायम गर्न सभापति थापाले कठोर संकल्पका साथ पहल गर्नुपर्ने बताएका हुन्।

उनले असोज ३ गतेदेखि सुरु गर्ने अधिवेशनको कार्यतालिका केही समयका लागि स्थगित गर्न आग्रह गरेका छन्। ‘पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ भन्ने मलाई आत्मविश्वास छ,’ खड्काले सामाजिक सञ्जालमा लेखेका छन्।
खड्काले पार्टीभित्रको विवाद संवादमार्फत समाधान नभए दुईवटा महाधिवेशन हुने र त्यसले पार्टी विभाजनको अवस्था निम्त्याउन सक्ने चेतावनीसमेत दिएका छन्।

यसैबीच, सभापति गगनकुमार थापाले भने कांग्रेसको महाधिवेशन प्रक्रिया अघि बढिसकेकाले अब नरोकिने बताएका छन्। उनले पार्टीका सबै पक्षलाई समेट्न अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन्। देउवा पक्षका ४० भन्दा बढी नेता बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा सहभागी भएका थिए।