काठमाडौं, असोज २ :

भोटेकोशी नदीमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि दक्षिण कोरियाको ‘नामसोल विश्वविद्यालय’ले २ करोड ५४ लाख २१ हजार ५ सय ९७ कोरियन वन सहयोग गरेको छ।

विपद्को कठिन घडीमा नेपाली जनतासँग ऐक्यबद्धता जनाउँदै विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा कर्मचारी गरी ५०८ जनाबाट स्वेच्छिक रूपमा उक्त रकम संकलन गरेका हुन्। उक्त संकलित रकम बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत पुर्‍याउने उद्देश्यका साथ कोरियन रेडक्रसमार्फत हस्तान्तरण गरिएको छ।

सहयोग हस्तान्तरण गर्दै विश्वविद्यालयका अध्यक्ष डा. युन सुङ-योङले संस्थाले सामाजिक उत्तरदायित्व र मानवीय सेवालाई सधैँ प्राथमिकतामा राख्दै आएको बताए। उनका अनुसार विश्वविद्यालयले कोरियन रेडक्रससँग सहकार्य गर्दै विभिन्न परोपकारी तथा मानवीय गतिविधिमा निरन्तर सहभागिता जनाउँदै आएको छ।

त्यसो त ‘नामसोल विश्वविद्यालय’ले विद्यार्थीहरूलाई स्नातक तह पूरा गर्न ६५ घण्टाको स्वयंसेवा अनिवार्यसमेत गरेको छ। सामाजिक उत्तरदायित्वप्रति विद्यार्थीलाई अभिमुख गराउने र मानवीय सेवामा उनीहरूको सहभागिता बढाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ।

बाढीपीडितका लागि सहयोग संकलन अभियानमा सक्रिय भूमिका निर्वाह गरेकी विश्वविद्यालयकी नेपाली प्राध्यापक डा. सिर्जना थापाले विपद्का बेला सहयोगका लागि एकजुट भएको विश्वविद्यालय परिवारप्रति कृतज्ञता व्यक्त गरिन्। ‘यो सहयोगले सीमा र राष्ट्रियताभन्दा माथि उठेर मानवीय भावनाले मानिसहरूलाई कसरी जोड्छ भन्ने प्रस्ट पारेको छ,’ डा. थापाले भनिन्।

नेपालको विपद्प्रति दक्षिण कोरियाको शैक्षिक संस्थाले देखाएको मानवीय सहयोगलाई दुई देशबीचको जनस्तरीय सम्बन्ध सुदृढ बनाउने महत्वपूर्ण कडीका रूपमा हेरिएको छ। पछिल्ला दिनमा दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या उल्लेख्य रहेको छ । सन् २०२५ को अन्त्यसम्मको तथ्यांकअनुसार १२ हजार ७८४ नेपाली विद्यार्थी दक्षिण कोरियामा अध्ययनरत छन्। कोरियामा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने मुलुकमध्ये नेपाल पाँचौँ स्थानमा पर्दछ । ‘नामसोल विश्वविद्यालय’मा मात्रै १३२ जना नेपाली विद्यार्थी अध्ययनरत छन्। 

दक्षिण कोरियाको छनान सहरमा सन् १९९४ मा स्थापना भएको ‘नामसोल विश्वविद्यालय’ले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व, स्वयंसेवा तथा मानवीय सेवाका क्षेत्रमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

भोटेकोशी बाढीबाट सयौं व्यक्तिको ज्यान गएको छ भने हजारौं विस्थापित भएका छन् । ५ हजार भन्दा बढी मानिस बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य अझै जारी छ  ।