काठमाडौं, असोज ४ :

भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रबाहेक अधिकांश जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार अब रसुवा, नुवाकोट र धादिङमा मात्रै वडा अधिवेशन हुन बाँकी छ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आइतबार साँझ जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज ३ र ४ गते ७३ जिल्लाका अधिकांश वडामा अधिवेशन सम्पन्न भएको हो। देशभर रहेका ६ हजार ७४३ वडामध्ये ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।

यस्तै, केही निर्वाचन क्षेत्रमा समेत वडा अधिवेशन हुन बाँकी रहेको छ। मोरङ निर्वाचन क्षेत्र नम्बर ६, सुनसरी निर्वाचन क्षेत्र नम्बर २ र ४, सर्लाही निर्वाचन क्षेत्र नम्बर २, रौतहट निर्वाचन क्षेत्र नम्बर १ तथा नवलपरासी पूर्वको निर्वाचन क्षेत्र नम्बर २ का केही वडामा अधिवेशन हुन बाँकी रहेको समितिले जनाएको छ।

छुटेका यी क्षेत्रका वडामा असोज ५ गते अधिवेशन सम्पन्न गरिने जनाइएको छ।

भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रको अवस्थाका कारण रसुवा, नुवाकोट र धादिङमा भने वडा अधिवेशनको प्रक्रिया बाँकी रहेको कांग्रेस निर्वाचन समितिले जनाएको छ। असोज १६ देखि १९ सम्म काठमाडौंमा १५ औं केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय भएको छ ।