ललितपुर, असोज ५ :

नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटी प्रस्तुत हुने एजेन्डा तय गरेको छ । पार्टी कार्यालय च्यासलमा सोमबार बसेको बैठकले केन्द्रीय कमिटिमा अध्यक्षको मन्तव्य, केही केन्द्रीय सदस्यहरूको मनोनयन र अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुति तथा त्यसपछिको छलफल समावेश लगाएतका एजेण्डा तय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए। 

उनले कार्यदलको प्रतिवेदन सचिवालयमा बैठकमा प्रस्तुत नभएको बताए । कार्यदलले सचिवालयमा आफ्नो प्रतिवेदन बुझाइसकेकाले अब कार्यदलको काम र भूमिका औपचारिक रूपमा सकिएको उनले बताए ।  कार्यदल देखाउन मात्र नभई तल्लो तहको समीक्षा र सुझाव संकलनका लागि बनेको भन्दै उनले तल्लो तहबाट आएका सुझावहरूलाई छुट्टै अनुसूचीमा नराखी प्रतिवेदनभित्रै समावेश गरिएको जानकारी दिए ।

साथै भट्टले प्रतिवेदनमा अध्यक्षको रिजर्भेसन रहेका विषयलाई पहिले नै प्रतिवेदनबाट हटाइसकिएकाले अब अध्यक्षको रिजर्भेसनको कुनै औचित्य वा विवाद बाँकी नरहेको उल्लेख गरे । प्रतिवेदनमाथि केन्द्रीय कमिटिमा नै थप छलफल हुने उनको भनाइ छ ।