काठमाडौं, असोज ५ :

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विपद्पछिको सडक सञ्जाल पुनःस्थापनाका लागि तीव्र रुपमा काम भइरहेको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री लम्सालले विपद्पछिको सडक सञ्जाल पुनःस्थापनाका लागि आपतकालीन टेन्डर, बजेट व्यवस्थापन तथा दीर्घकालीन पुनर्निर्माण रणनीतिबारे जानकारी गराएका हुन्।

उनले कृष्णभिर जस्ता ठाउँमा सामान्य देखिए पनि तलको भाग कटान भएर निकै जटिल पहिरो गएको बताए । प्रधानमन्त्री कार्यालयले असोज ७ गतेसम्म पुनर्निर्माण लागतको विवरण माग गरेकोमा समयअगावै काम सम्पन्न गरी विपद् प्राधिकरणमा विवरण पठाइसकिएको उनले जानकारी दिए । 

 मन्त्री लम्सालले सडक, २ वटा वैकल्पिक मार्ग , देशभरका पहिरो र भविष्यका लागि आवश्यक उपकरण व्यवस्थापनसहित ९० अर्ब रुपैयाँको माग गरिएको बताए ।

भवन, खानेपानी, सहरी विकास लगायत सबै क्षेत्रको लागत जोड्दा कुल बजेट करिब १०० अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान रहेको उनको भनाइ छ । उनले काम नरोक्नका लागि हाललाई अन्य आयोजनाबाट बजेट कटौती गरेर भए पनि व्यवस्थापन गरिएको बताए।

मन्त्री लम्सालले हाल सडक सञ्चालन गर्न अस्थायी रूपमा मात्र पहिरो पन्छाइएको भन्दै बाढीले क्षतिग्रस्त बनाएका पुरानै जोखिमयुक्त ठाउँमा फेरि स्थायी सडक नबनाइएको स्पष्ट पारे

फास्ट ट्रयाकमा डीपीआर तयार गरी डिजाइन रिभ्यु गरेर ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार सुरक्षित ठाउँबाट नयाँ सडक निर्माण गरिने उनले बताए ।

समिति बैठकले रसुवा, नुवाकोट, धादिङ लगायत बाढी तथा पहिरो प्रभावित जिल्लाहरूका सडक, ग्रामीण सडक, पुल, खानेपानी तथा ढल व्यवस्थापनका पूर्वाधारमा भएको क्षतिको यथार्थ विवरण र विस्तृत कार्ययोजना तयार गरी पेश गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।