काठमाडौं, असोज ५ :

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले त्रिपुरेश्वर बस आगजनी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ ।  एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको समितिलाई पाँच दिनको समय दिइएको छ ।

रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा जलेर बस चालक काभ्रे घर २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन् । बसभित्रै रहेका उनलाई प्रहरीहरुले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाएका थिए । उनको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

बसमा आगलागी हुनुअघि चालक र ड्युटीमा खटिएका ट्राफिक प्रहरीहरुबीच विवाद भएको खुलेको छ । सामाजिक सन्जालमा सार्वजनिक वादविवादको एक भिडियो क्लिपमा चालकले ‘मर्न तयार छु, तर फाइन तिर्दिनँ’ भनेको सुनिन्छ । लगत्तै रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो ।