काठमाडौं, असोज ५ :

सर्वोच्च अदालतले तीन अवस्थाबाहेक पक्राउ परेका जो कोहीलाई हत्कडी नलगाउन प्रहरीको नाममा आदेश जारी गरेको छ ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको  इजलासले सोमबार पक्राउ परेको व्यक्ति भाग्ने जोखिम भएमा, उसको व्यवहार हिंसात्मक भएमा र उसले आफू वा अरुलाई क्षति पुर्‍याउनसक्ने भएमा त्यसको बस्तुनिष्ठ विश्लेषण गरेर आवश्यक परेमा मात्रै हत्कडी लगाउनु भनेको छ। 
प्रहरी प्रधान कार्यालयको नाममा जारी गरेको आदेशमा सर्वोच्चले त्यसरी हत्कडी लगाउदा समेत अभिलेख राख्न प्रहरी अधिकारीहरूको नाममा आदेश दिएको छ ।

सर्वोच्चले हत्कडीको प्रयोग विरुद्ध परेको रिट निवेदनको अन्तिम टुंगो नलाग्दासम्म जो कोहीलाई मनमौजी रुपमा हत्कडी नलगाउन भनेको छ ।हत्कडीको गैरकानुनी प्रयोग भएको भन्दै विवेक चौधरी, विकास यादव र रोशन आउजाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रहरी ऐन, २०१२ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा पक्राउ हुने व्यक्ति भाग्न खोजेमा आवश्यक बल प्रयोग गर्नसक्ने  व्यवस्थाका आधारमा प्रहरीले पक्राउ हुने सबैलाई हत्कडी लगाएर राख्ने गरेको छ ।