
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ। ललितपुरको भनिमण्डलमा जारी बैठकको दोस्रो दिन केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखिरहेका छन्।
बैठकमा उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनको मूल भावना सही रहेको भन्दै समर्थन जनाएका छन्। उनले प्रतिवेदनमा समेटिएका मुख्य १५ वटा योजनालाई आधार बनाएर पार्टी अघि बढ्नुपर्ने धारणा राखेका छन्।
‘प्रतिवेदनको स्पिरिट ठिक छ। यसमा मुख्य रूपमा आएका १५ वटा योजनाअनुसार अगाडि बढ्नुपर्छ। म यसलाई समर्थन गर्छु,’ पौडेलको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले बताए।
त्यसैगरी महासचिव शंकर पोखरेलले पनि अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनप्रति समर्थन जनाएका छन्। उनले अध्यक्ष ओलीले आवश्यक ‘रियलाइजेसन’ गरिसकेको भन्दै अब प्रतिवेदनप्रति विमति राख्नुपर्ने अवस्था नरहेको धारणा राखेका छन्।
‘अध्यक्षले जुन रियलाइजेसन गर्नुपर्ने थियो, त्यो गर्नुभयो। त्यसकारण अब यसमा कुनै विमति गर्नुपर्ने छैन। अध्यक्षको प्रतिवेदनलाई संश्लेषण गरेर अगाडि जानुपर्छ,’ पोखरेलले बैठकमा भनेका छन्। मगलबार ९६ जना सदस्यहरुले धारणा राखेका छन् । बैठक बिहीबार सम्पन्न हुने बताइएको छ ।