काठमाडौं, असोज ७ :

नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले नेपाली सेनाप्रति पार्टीको स्पष्ट धारणा सार्वजनिक गर्न नेतृत्वसँग माग गरेका छन्। एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै रिजालले पार्टी नेतृत्वबाट सेनाका विषयमा सार्वजनिक भएका धारणाले भ्रम सिर्जना गरेको बताएका हुन्।

रिजालले एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले सेनाको भूमिकाबारे सार्वजनिक रूपमा व्यक्त गरेका धारणाले पार्टीको आधिकारिक दृष्टिकोणबारे प्रश्न उठेको बताए।

‘अध्यक्ष कमरेड स्वयंले भन्नुभएको छ- पाँच मिनेट ढिलो भएको भएर लागू पदार्थ खुवाएर ल्याएकाहरूले मलाई बालुवाटारमै मार्ने थिए । राधिका शाक्य म्याडमको पनि अस्ति त्यस्तै धारणा सार्वजनिक भएको छ,’ रिजालले बैठकमा भने।

सेनाले हाम्रो नेतृत्वको सुरक्षा र सहजीकरण गरेको छ,’ उनले भने, ‘एमालेको आजको मुख्य निशाना नेपाली सेना नै हो जस्तो गरेर संसद्मा बारम्बार प्रस्तुत हुनुले एमालेकै दृष्टिकोण त्यही हो कि भन्ने भ्रम उत्पन्न भएको छ ।

उनले भदौ २३–२४ गतेका घटनामा नेपाली सेनाको भूमिकाबारे धेरै प्रश्न अनुत्तरित रहेको उल्लेख गर्दै पार्टी नेतृत्वको सुरक्षा तथा सहजीकरणमा सेनाले खेलेको भूमिकालाई पनि ध्यान दिनुपर्ने बताए। उनले एमालेले पछिल्लो समय अघि सारेका राजनीतिक नाराहरू र समग्र नीतिमाथि समेत पुनःविचार गर्नुपर्ने धारणा राखे।