काठमाडौं, असोज ११ :

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ नगरेको, सुरक्षा खतराका कारण महाराजगन्जस्थित निवासबाट कार्यालयमा ल्याइएको दाबी गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार जबरालाई ‘सुरक्षा थ्रेट’ देखिएपछि सुरक्षाका लागि कार्यालयमा ल्याएर राखिएको हो। शनिबार राति प्रहरी टोलीले महाराजगन्जस्थित निवासबाट जबरालाई नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा ल्याएको थियो।

जबराका भाइ प्रभुशमशेरले भने ‘जेनजी’बाट सुरक्षा खतरा रहेको भन्दै प्रहरीहरूले आफ्ना दाइलाई लिएर गएको बताएका छन्। प्रहरीले पनि जबरालाई सम्भावित भौतिक आक्रमणबाट जोगाउनका लागि कार्यालयमा ल्याइएको दाबी गरेको छ।

यद्यपि, जबरालाई कुन कानुनी आधार, कसुर वा पुर्जीका आधारमा नियन्त्रणमा लिइएको हो भन्ने विषयमा प्रहरीले अहिलेसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन। यही कारण घटनाको कानुनी प्रक्रियाबारे प्रश्न उठेको छ।

नेपालको इतिहासमा पूर्वप्रधानन्यायाधीशलाई यसरी प्रहरीले नियन्त्रणमा लिएको यो पहिलो घटना भएको दाबीसमेत गरिएको छ। प्रधानन्यायाधीश रहेकै समयदेखि विवादमा रहँदै आएका जबरा पछिल्लो समय शक्ति–राजनीतिसँग जोडिएका विभिन्न चर्चाका बीच पुनः सार्वजनिक चासोमा आएका हुन्।

मध्यरातमा निवासबाट प्रहरी टोलीले नियन्त्रणमा लिएर कार्यालयमा पुर्‍याएको घटनाले कानुनी प्रक्रिया र राज्यका निकायले अपनाउनुपर्ने विधिबारे समेत प्रश्न खडा गरेको छ। कानुनका जानकारहरूले भने जबरालाई कुन आधारमा नियन्त्रणमा लिइएको हो भन्ने विषयमा प्रहरीले स्पष्ट जानकारी दिनुपर्ने बताएका छन्।

घटनाको वास्तविक कानुनी आधार, सुरक्षा थ्रेटको प्रकृति तथा जबरालाई कार्यालयमा राखिएको अवस्थाबारे प्रहरीबाट थप औपचारिक विवरण आउन बाँकी छ।