काठमाडौं, असोज ११ :

अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा अवरुद्ध सडक सञ्चालनलाई प्राथमिकतामा राखी फौज परिचालित गरेको छ । 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, चितवन, धनुषा र तनहुँका बाढी प्रभावित क्षेत्रमा रातिदेखि नै फौज परिचालित भएका छन् ।

पर्वतको जलजला गाउँपालिका-८ स्थित फर्सेमा कालीगण्डकी नदी बस्तीमा पसी घरहरू बगाएको खबर प्राप्त भएपश्चात् उक्त स्थानमा फौज खखिएर  सुरक्षित स्थानमा स्थानान्तरण गर्नतथा सरसामान सार्न सहयोग गरिरहेको सेनाले जनाएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यबिन्दु नगरपालिका-२ भुताहा र सुस्ता गाउँपालिका-५ स्थित सुस्ता इलाकामा डुबानको जोखिम भएकाले सैनिक फौज खट्टिई स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेका छन् ।

पाल्पा माथागढी गाउँपालिका-३ लेन्दीमा पहिरोले पुरेको घरमा खोज तथा उद्धार जारी रहेको निर्देशनालयले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका-१ देवघाटमा र भरतपुर महानगरपालिका-३ बाह्रघरेमा  नारायणी नदीको सतह बढेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा स्तान्तारण गरिएको छ ।

धनुषाको मिथिला नगरपालिका-११, आपगाछी, चुरेमा पहिरोले पुरिएको घरमा खोज तथा उद्धार कार्यका लागि फौज खटिएको सेनाले जनाएको छ । तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवास्थित पृथ्वीराजमार्गमा पहिरो र लेदो आई अवरुद्ध भएको सडकखण्ड काली भञ्जन गणबाट खटिएको फौजले स्थानीय निकायसँगको सहकार्यमा अवरोध हटाई सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ ।