काठमाण्डौँ , कात्तिक ६ :

विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी जापानको शिक्षा मन्त्रालय र नागोया साङ्ग्यो विश्वविद्यालयद्वारा जलवायु परिवर्तनको सामना गर्न वातावरणीय साक्षरतालाई बढावा दिने र मूल्याङ्कन गर्ने शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ । 

जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (एडिपोर्ट जापान) अन्तर्गत नागोया साङग्यो विश्वविद्यालय र पोखरास्थित पश्चिमाञ्चल विद्यालयबीच वायुमण्डलमा फैलिएको कार्बनडाइअक्साइडको अवस्था र वातावरणसम्बन्धी साक्षरता फैलाउने कार्यक्रमको समझदारीपत्रमा सम्झौता भएको छ ।

नेपालमा पहिलो पटक सञ्चालन भएको यो कार्यक्रम ताइवान, भियतनाम, इन्डोनेसिया र जापानका विभिन्न विद्यालयमा पनि कार्यान्वयनमा रहेको छ । 

यस कार्यक्रमले विद्यार्थीलाई वातावरणसम्बन्धी ज्ञानका साथै विश्वव्यापी रुपमा मुख्य चुनौतीको रुपमा  रहेको जलवायु परिवर्तनका कारण सिर्जित असर, कार्बनडाइ अक्साइडमा भएको वृद्धि लगायतका विषयमा प्रयोगात्मक तरिकाबाट बुझाउन मद्दत गराउँछ ।

साथै, विद्यार्थीमा परिवर्तनका असर सामना गर्न र वातावरणीय साक्षरतालाई अभिवृद्धि गर्न सहयोग पुग्ने बताइएको छ । 

गण्डकी, बागमती र लुम्बिनी प्रदेशका पाँच जिल्ला कास्की, रूपन्देही, भक्तपुर, ललितपुर र बर्दियामा सञ्चालन गरिएको छ । गण्डकी प्रदेशमा पश्चिमाञ्चल माध्यमिक विद्यालय, अमरसिंह मावि, गण्डकी बोर्डिङ स्कुल,  बागमतीमा एसओएस हेर्मन माइनर माध्यामिक विद्यालय सानोठिमी, युनाइटेड एकेडमीलु्म्बिनीमा शङ्करनगर दुर्गादत्त माध्यामिक विद्यालय र जनता माध्यामिक विद्यालयमा यो कार्यक्रम लागू भएको छ । 

सम्झौता हस्ताक्षरपछि पश्चिमाञ्चल विद्यालयका प्राचार्य सरोज कोइरालाले नेपालमै पहिलो पटक जापान सरकारको प्रत्यक्ष सहभागितामा भएको कार्यक्रममा आफ्नो विद्यालयले सहभागी हुन पाउँदा खुसी लागेको र यसले विद्यार्थीको वातावररण प्रतिको सचेतना अझ बढ्ने मद्दत पुग्ने बताउनुभयो ।