बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन#लामो दूरी#सवारीसाधनमा दुई चालक#विद्यादेवी भण्डारी#लामाबगर#पहिरो#मन्त्रिपरिषद्को निर्णय#चोलेन्द्रशम्शेर पक्राउ प्रकरण#रेस्क्यू#बागमती प्रदेश सरकार#भोटेकोशी#पुनर्निर्माणमा होडबाजी #केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन#लामो दूरी#सवारीसाधनमा दुई चालक#विद्यादेवी भण्डारी#लामाबगर#पहिरो#मन्त्रिपरिषद्को निर्णय#चोलेन्द्रशम्शेर पक्राउ प्रकरण#रेस्क्यू#बागमती प्रदेश सरकार#भोटेकोशी#पुनर्निर्माणमा होडबाजी
समाचार

ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

सक्रिय न्युज · २ घण्टा अगाडि प्रकाशित
ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण
काठमाडौं, असोज १४ :

ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको  लिङ्गो  मंगलबार राति ९:२५ बजेको साइतमा ढालिएको (इन्द्रध्वजपातन) छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा हो । आज राति इन्द्रध्वजपातन गरेसँगै आठ दिन लामो जात्रा समापन भएको गुठी संस्थानले जनाएको छ ।  

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल हनुमानढोका दरबार क्षेत्र गई श्रीगणेश, श्रीभैरव र श्रीकुमारीबाट टीका एवम् प्रसाद ग्रहण गरेका थिए । टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा छ । आजै दिउँसो महिलाले मात्र रथ तानी नानीचा यात्रा सम्पन्न गरिएको थियो । यो यात्रा इन्द्रजात्राको अन्तिम यात्रा हो ।

इन्द्रजात्राका अवसरमा यही असोज १० गते माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । इन्द्रजात्राको मुख्य दिन असोज ९ गते शुक्रबार तल्लोटोलमा श्रीगणेश, श्री भैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।

इन्द्रध्वजपातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइतमा भाद्र शुक्ल द्वितीयाका दिन लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेश लगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ ।

इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गर्नुभएको थियो । इन्द्रजात्राकै दिन पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेको ऐतिहासिक तथ्य छ ।

वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको भदौ ९ गते शुक्रबार विधिपूर्वक पूजाआजा गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच, पुलुकिसी नाच, रामचन्द्र नाचलगायत सांस्कृतिक झाँकी तथा अन्य नाचगान प्रस्तुत गरिएको थियो ।

इन्द्रजात्राको अन्तिम दिन आज हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गर्ने भक्तजनको भीड लागेको थियो । सो अवसरमा जीवित देवी कुमारीको दर्शन गर्ने भक्तजनको लाम लागेको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार