नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर पक्षको आज हुन लागेको वडा अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन काँग्रेसका सबै सदस्यहरूलाई अपिल गरेका छन् ।
काँग्रेसको देउवा पक्षीय समूहको १५औँ महाधिवेशन अन्तर्गत आज वडा अधिवेशन हुँदैछ ।
पूर्वसभापति देउवाले नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गतको देश भरका वडाहरूको अधिवेशन आज हुन लागेकाले त्यसमा सहभागिताका लागि अपिल गरेका हुन् ।
नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि कांग्रेसले आठ दशकदेखि ठूलो बलिदान र सङ्घर्ष गरेको स्मरण गर्दै पूर्व सभापति देउवाले यसकारण पनि पार्टीको १५औँ महाधिवेशन निकै महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।
उनले आज जारी गरेको अपिलमा भनेका छन्, “म तमाम नेपाली काँग्रेसका नेता तथा कार्यकर्तामा आजदेखि देशभरका छ हजार ७४३ वडामा एकैसाथ विधि र प्रक्रिया पूरा गरेर सुरु हुन लागेको अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भएर सम्पन्न गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।”
काँग्रेस संस्थापन पक्षको महाधिवेशन यही असोज १८ देखि सुरु हुँदैछ भने देउवा संस्थापन इतर पक्षको आगामी मङ्सिर २१ देखि हुने मिति घोषणा गरिएको छ ।