बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित#सोह्र श्राद्धको महत्त्व#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल #राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित#सोह्र श्राद्धको महत्त्व#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल
समाचार राजनीति

संसदमा दर्ता गरिएको संघीय निजामती विधेयकमा के के छन् प्रावधान ?

महिनावारी बिदाको नयाँ व्यवस्था
सक्रिय न्युज · २ घण्टा अगाडि प्रकाशित
संसदमा दर्ता गरिएको संघीय निजामती विधेयकमा के के छन् प्रावधान ?
काठमाडौं, असोज १५ :

सरकारले सङ्घीय निजामती सेवा विधेयक २०८३ सङ्घीय संसद् सचिवालयमा दर्ता गरेको छ ।

तीन दशक पुरानो निजामती सेवा ऐनलाई प्रतिस्थापन गर्दै ‘सङ्घीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८३’ संघीय संसद् सचिवालयमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले दर्ता गराएकी हुन् ।

विधेयकमा  ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुरा गरेका अहिलेका निजामती कर्मचारीहरूले अनिवार्य अवकाश पाउने गरी संघीय निजामती सेवा विधेयक संघीय संसद्‍मा दर्ता भएको छ । विधेयकको दफा ५७ मा दुईवटा आधारमा हाल कार्यरत निजामती कर्मचारीहरू अवकाश हुने परिकल्पना गरिएको छ ।विधेयकको दफा २४ मा हाल बहालवाला सचिवहरू(अधिकृत तेह्रौं तह) तीन वर्षमा र मुख्य सचिव (अधिकृत चौधौं तह) दुई वर्षमा अवकाश हुने परिकल्पना गरिएको छ । अहिले नै बहालवाला सचिव र मुख्य सचिवहरूलाई यो व्यवस्था लागू हुने वा नहुने भन्ने बारे विधेयकमा स्पष्ट व्यवस्था छैन ।

तर अब नियुक्त हुने सचिवहरूको ५ वर्षे पदावधि घटेर तीन वर्षको हुनेछ भने मुख्य सचिवको ३ वर्षे पदावधि घटेर दुई वर्षको हुनेछ ।विधेयकले ५५ वर्ष पूरा भएर आकस्मिक अवकाशमा जाने कर्मचारीहरूका लागि तीन वर्ष अवधि थप्ने सुविधा दिएको छ । त्यो अवधि पेन्सन प्रयोजनका लागि मात्रै गणना हुनेछ । ५५ वर्षमा अवकाश हुने कर्मचारीहरूले पेन्सनका लागि ५८ वर्ष अर्थात् थप ३ वर्ष सेवा अवधि जोड्न पाउनेछन् ।

पदावधि घटेर अवकाश हुने सचिव(अधिकृत तेह्रौं) र मुख्यसचिव(अधिकृत चौधौं)ले अवकाशपछि अहिलेको सचिव र मुख्यसचिव सरहको अवधि अर्थात ५ र ३ वर्षकै अवधि जोडेर अवकाश पाउनेछन् ।विधेयकमा भनिएको छ, ‘तर पदावधि नसकिँदै ५८ वर्ष उमेर पूरा भई अवकाश हुने भएमा ५८ वर्ष पूरा हुने अवधिसम्मको सेवा अवधि थप हुनेछ ।सरकारले निजामती कर्मचारीहरूका लागि स्वेच्छिक अवकाशको प्रावधान पनि थपेको छ । जस अनुसार स्वेच्छिक अवकाश लिने कर्मचारीहरूले ६० वर्ष ननाघ्ने गरी बढीमा पाँच वर्षको सेवा अवधि पेन्सनका लागि थप्न पाउनेछन् 
विधेयकले श्रेणीगत व्यवस्थालाई विस्थापित गर्दै १४ तहको संरचना प्रस्ताव गरेको छ भने कर्मचारीको अनिवार्य अवकाश उमेर हद ५८ बाट बढाएर ६० वर्ष पुर्याउने व्यवस्था अघि सारेको छ ।उच्चपदस्थ कर्मचारीका लागि अवकाशपछिको दुईवर्षे ‘कुलिङ पिरियड’, महिला कर्मचारीका लागि महिनावारी बिदा तथा आरक्षणमा नयाँ मापदण्डसहितका व्यापक सुधारहरू विधेयकमा समेटिएका छन् ।

विधेयकमा समावेश गरिएका प्रावधानहरु

१४ तहको संरचना

प्रस्तावित विधेयकले विद्यमान श्रेणीगत व्यवस्थालाई अन्त्य गरी तहगत प्रणाली लागू गरेको छ।

राजपत्राङ्कित विशिष्ट श्रेणी : मुख्य सचिव र सर्वोच्चका मुख्य रजिस्ट्रार (१४ औँ तह) तथा सचिव वा सोसरह (१३ औँ तह)।

राजपत्राङ्कित प्रथम श्रेणी : १२ औँ र ११ औँ तह।

राजपत्राङ्कित द्वितीय श्रेणी : १० औँ र ९ औँ तह।

राजपत्राङ्कित तृतीय श्रेणी : ८ औँ र ७ औँ तह।
राजपत्र अनङ्कित : अधिकृत छैटौँ तह, सहायक पाँचौँ, चौथो, तेस्रो, दोस्रो र सहायक पहिलो (१ देखि ६ तह)।

(यसअघिका श्रेणीविहीन कर्मचारीलाई सहायक पहिलो तह कायम गरिनेछ भने तेस्रो तहमा कुनै कर्मचारी नरहेपछि सो पद स्वतः खारेज हुने उल्लेख छ।)

अवकाशको उमेर हद ६० वर्ष

निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष पुर्‍याइएको छ । तर, ऐन प्रारम्भ हुँदाका बखत ५५ वर्ष उमेर पूरा भएका वा ३० वर्ष सेवा अवधि पूरा भइसकेका कर्मचारीहरूलाई अनिवार्य अवकाश दिइने संक्रमणकालीन व्यवस्था राखिएको विधेयकमा राखिएको छ । सेवा अवधि बाँकी छँदै ५५ वर्ष उमेर हदबा कारण अनिवार्य अवकाशमा जाने कर्मचारीलाई थप ३ वर्ष पेन्सन प्रयोजनका लागि गणना गरिने भएको छ । पेन्सन प्रयोजनका लागि अधिकतम सेवा अवधि ३० वर्ष गणना गरिनेछ ।

सचिव र सहसचिवले राजीनामा वा अवकाश पाएको दुई वर्षसम्म कुनै पनि संवैधानिक, कूटनीतिक वा अन्य सरकारी पदमा नियुक्ति नपाउने व्यवस्था गरिएको छ । सेवा निवृत्त भएको दुई वर्षसम्म अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार वा आफू बहाल रहँदा नियमन गरेको संस्थामा कर्मचारी वा परामर्शदाताका रूपमा काम गर्न पाइने छैन ।

आरक्षणमा नयाँ मापदण्ड

समावेशितालाई न्यायोचित बनाउन खुला प्रतियोगिताबाट पदपूर्ति हुने सीटमध्ये ४९ प्रतिशत आरक्षणका लागि छुट्याइने उल्लेख छ । यो ४९ प्रतिशतलाई शतप्रतिशत मानिएको छ । जसमा खस आर्य (२७.७%), आदिवासी जनजाति (२५.७%), मधेसी (१५.३%), दलित (१२.७%), थारु (६.६%), मुस्लिम (४%), पिछडिएको क्षेत्र (४%) र अपाङ्गता भएका महिला (४%) छन्। बाँकी ५० प्रतिशत सीट अन्य खुला समावेशी : जसमा आदिवासी जनजाति (३२.५%), मधेसी (१९%), दलित (१५.५%), विपन्न खस आर्य (१०%), थारु (९%), मुस्लिम (५%), पिछडिएको क्षेत्र (५%) र अपाङ्गता (४%) को प्रस्ताव गरिएको छ ।राजपत्र अनङ्कित पदमा एक पटक र राजपत्राङ्कित पदमा एक पटक मात्र आरक्षण सुविधा लिन पाइनेछ। विपन्न खस आर्यको हकमा गरिबीको परिचयपत्र वा स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ। आरक्षणको अवसर जीवनभरमा २ पटक मात्र गरिएको छ ।

महिनावारी बिदासहित ९ प्रकारका बिदा

कर्मचारीहरूले पाउने बिदालाई अधिकार नभई सहुलियतको रूपमा परिभाषित गर्दै ९ प्रकारका बिदा प्रस्ताव गरिएको छ । त्यस्तै  भैपरी, घर, बिरामी, मातृत्व तथा प्रसूति, प्रसूति स्याहार, मृत्यु संस्कार, अध्ययन, असाधारण बिदासँगै महिनावारी बिदाको नयाँ व्यवस्था गरिएको छ।

सामाजिक सञ्जाल, ट्रेड युनियन र हडतालमा कडाइ

कर्मचारीले सामाजिक सञ्जालमा सामाजिक द्वेष वा कलह बढ्ने, हिंसा भड्किने, सार्वजनिक पदाधिकारी वा राजनीतिक दलका पक्ष/विपक्षमा टिप्पणी गर्न तथा पदीय कामको प्रचार प्रसारमा बन्देज लगाइएको छ ।त्यस्तै 
बन्द,हड्ताल, धर्ना,कलम बन्द,घेराउ र तालाबन्दी गर्न पूर्ण रूपमा निषेध गरिएको छ । यस्तो कार्यबाट सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुगेमा विभागीय सजाय गरी कर्मचारीबाटै क्षतिपूर्ति भराइने विधेयकमा उल्लेख छ ।

तीन तहबीचको अन्तरसम्बन्ध

प्रदेश प्रमुख सचिव संघीय निजामती सेवाको १३ औँ तहको कर्मचारी रहने र प्रदेशको सहमतिबिना १ वर्षसम्म सरुवा नगरिने उल्लेख छ । प्रदेश सचिव प्रदेश निजामती सेवाको १२ औँ तहको पद हुने । पदपूर्ति नभएसम्म संघले संघीय सेवाका १२ औँ वा ५ वर्ष सेवा पुगेका ११ औँ तहका कर्मचारी खटाइने । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने साथै पदपूर्ति नभएसम्म संघले महानगर/उपमहानगरमा ११ औँ, नगरपालिकामा १० औँ र गाउँपालिकामा ८ औँ तहका अधिकृत खटाउने व्यवस्था गरिएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार