नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले लोकतान्त्रिक संस्कृतिको पुनर्जागरण गर्नुपर्नेमा जोड दिँदै राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा शीर्षकको प्रतिवेदन प्रस्तुत गरेका छन् ।
सोमबार पार्टीको महाधिवेशन अन्तर्गतको बन्द सत्रमा समसामयिक प्रतिवेदन प्रस्तुत गर्दै शर्माले पछिल्लो समय मुलुकको राजनीति, नेतृत्व र शासन प्रणालीप्रति नागरिकमा बढेको असन्तोष र वितृष्णालाई चिर्दै लोकतान्त्रिक संस्कृतिको पुनर्जागरण गर्नुपर्नेमा जोड दिए।
उहाले पार्टी र समग्र राजनीतिमा आएको क्षयप्रति आत्मालोचित हुँदै, अबदेखि ‘व्यक्तिको गल्ती वा दोष संस्थाले नबोक्ने’ स्पष्ट नीति लिइएको बताए । कानुन उल्लङ्घन वा अनियमितताको मुद्दामा जोडिने जुनसुकै नेता वा कार्यकर्ताले व्यक्तिगत रूपमा कानुनको सामना गर्नुपर्ने उनको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै उनले राजनीतिक पुनर्जागरणका लागि १५ औँ महाधिवेशनबाट १५ वटा ‘हामी यो गर्दैनौँ’ र १५ वटा ’हामी यो गर्छौँ’ संकल्पहरू अघि सारे । साथै उनले प्रविधिका माध्यमबाट ग्रासरुटका क्रियाशील सदस्यहरूलाई सीधा निर्णय प्रक्रियामा जोड्न ‘डिजिटल कांग्रेस’ को अवधारणा लागु गरिने जनाए । उनले कांग्रेसप्रति प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति प्रति टिप्पणी गर्दै कांग्रेसले लडेर ल्याएको लोकतन्त्रमा बोल्ने स्वतन्त्रता रहेको जवाफ दिए । उनले प्रधानमन्त्री पदको म्युजिकल चेयरको आलोपालो चलेको दृश्यले निराश भएको युवामाझ ३५ वर्षमा देशमा केही भएन भन्नु संसदीय लोकतान्त्रिक प्रणालीका विपक्षीहरुलाई सफलता मिलेको उल्लेख गरे ।
उनले जेनजी बिद्रोहमा जीवन गुमाएका युवा र अन्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त बिद्रोह मार्फत युवाहरूले व्यक्त गरेको अपेक्षा सम्बोधन गर्ने दिशामा इमानदार ढंगले कर्म गर्ने प्रतिबद्धता जनाए । पछिल्लो पुस्ताले नियमित रुपमा उठाउने प्रश्नको नियमित सम्बोधनले मात्रै तिनको विश्वासलाई राजनीति र राज्यप्रणालीसँग निरन्तर जोड्न सकिन्छ भन्ने तथ्यलाई सबै राजनैतिक दल र सरकारले गम्भीर हेक्का राख्न जरुरी रहेको उनको प्रतिवेदनमा उल्लेख छ । उनले महाधिवेशनले पार्टीलाई चुनाव जित्ने रणनीतिको दायराभन्दा माथि उठाएर नागरिकको विश्वास जित्ने लोकतान्त्रिक संस्कृतिको नयाँ आधारशिला खडा गर्ने उल्लेख गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
लिगमार्फत जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न व्यवस्थापनलाई निर्देशन
बन्दसत्रमा पेस भएका चारै प्रतिवेदन आजै पारित गर्ने तयारी, भोलिदेखि उम्मेदवारी दर्ता
व्यवसायमैत्री वातावरण बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार : मन्त्री साह