मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस सहमहामन्त्री#रामहरि खतिवडा#अजयबाबु शिवाकोटी#भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर#विपद् जोखिम न्यूनीकरण#पाँचौँ राष्ट्रिय सम्मेलन#प्रस्तावित नेपाली राजदूत#सरु जोशी#जीवनबहादुर शाही#सहमहामन्त्रीमा निर्वाचित#पद्माकुमारी अर्याल#खगेन्द्र सुनार#केपी शर्मा ओली#निशा मेहता#स्वास्थ्यमन्त्री #कांग्रेस सहमहामन्त्री#रामहरि खतिवडा#अजयबाबु शिवाकोटी#भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर#विपद् जोखिम न्यूनीकरण#पाँचौँ राष्ट्रिय सम्मेलन#प्रस्तावित नेपाली राजदूत#सरु जोशी#जीवनबहादुर शाही#सहमहामन्त्रीमा निर्वाचित#पद्माकुमारी अर्याल#खगेन्द्र सुनार#केपी शर्मा ओली#निशा मेहता#स्वास्थ्यमन्त्री
समाचार राजनीति

गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

· १ दिन अगाडि प्रकाशित
गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान
काठमाडौँ, असोज २६ :

काठमाडौँ गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान  गरेका छन्  ।

गृहमन्त्री गुरुङ आज दिउँसो १ः०० बजे भारतको नयाँ दिल्ली प्रस्थान गरेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री गुरुङले यही असोज २७ गते बिमस्टेकको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ ।

बैठकमा नेपाल, भारत, बङ्गलादेश, भूटान, म्यानमार, श्रीलङ्का र थाइल्याण्डसहित सातवटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी  हुने छन् ।

त्यस बैठकमा लागुपदार्थ ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी, आतङ्कवाद, विपद्जन्य सुरक्षा, साइबर अपराधलगायतका अन्तरदेशीय एवं क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्द्धनका लागि छलफल हुनेछ ।

मन्त्रालयका अनुसार, त्यस अवसरमा सुरक्षा क्षेत्रका बिमस्टेकस्तरीय विभिन्न संयन्त्रमा छलफल भएका विषय तथा दस्तावेजलाई पारित गर्ने र घोषणापत्र समेत जारी गरिने छ ।

बैठकमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा एकीकृत उद्धार र राहतका लागि क्षेत्रीय सहकार्य बढाउने विषयलाई नेपालका तर्फबाट प्राथमिकता दिइने जनाइएको छ ।

गृहमन्त्रीका रुपमा गृहमन्त्री गुरुङको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो । बिमस्टेकअन्तर्गत महत्वपूर्ण सहकार्यको रूपमा रहेको सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रको रुपमा रहेको उक्त बैठक पहिलोपटक भारतमा आयोजना हुन लागेको हो । उक्त संयन्त्रको परिकल्पना सन् २०१८ मा काठमाडौँमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले गरेको थियो ।

गृहमन्त्री गुरुङले भ्रमणका क्रममा आफ्ना समकक्षीसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने कार्यसूची रहेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री गुरूङ यही असोज २८ गते बुधबार स्वदेश  फर्कने तालिका छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार