बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

सशस्त्रका असई सागरराज थारुको शव पाँच दिनपछि फेला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ असोज, २०८३ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
प्रतीकात्मक तस्वीर ।
कञ्चनपुर, असोज २८ :

महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारुको शव पाँच दिनपछि फेला परेको छ ।

गत शनिबार दोधारा–चाँदनी झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको इन्टरनेटको तार तान्ने क्रममा महाकाली नदीमा बोट अनियन्त्रित भएर थारु बेपत्ता भएका थिए ।

सोही दिनदेखि सशस्त्र प्रहरीको गोताखोर टोलीको लगातार प्रयासपछि पाँचौँ दिनमा शव फेला परेको हो । थारुको शव आज बेपत्ता भएको स्थानबाट १०/१५ मिटर दक्षिणतिर भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए । “शव अड्किएका अवस्थामा फेला परेको छ”, उनले भने, “शव परीक्षणपछि परिवारको जिम्मा लगाउँछौँ ।”

बर्दियाको ठाकुरबाबा नगरपालिकाका–६ का थारु बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधारा–चाँदनीस्थित सशस्त्र प्रहरीको सीमासुरक्षा गुल्ममा हाजिर भएका थिए। दुई साताअघि दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्किएको थियो । पुलसँगै नेपाल टेलिकमको इन्टरनेट तारसमेत चुँडिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार