शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार

उद्धार गरिएका बालबालिका६ देखि १६ वर्षसम्मका छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार
काठमाडौं, असोज ३० :

भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ । वनबासबाट भारतीय सीमासुरक्षा बल (एसएसबी) ले उनीहरुको  उद्धार गरेको  राष्ट्रिय बाल अधिकार परिषद्ले जनाएको छ । परिषद्ले विज्ञप्ति जारी गर्दै उद्धार गरिएका बालबालिकाको उमेर ६ वर्षदेखि १६ वर्षसम्मका छन् ।

हुम्ला जिल्ला सिमकोट गाउँपालिकाका २४ जना र अछाम जिल्लाको एक जना गरी जम्मा २५ (बालक १६ र बालिका ९) लाई पढाइ दिने भन्दै भारतको देहरादुनतर्फ लैजाँदै गरेको अवस्थामा भेटिएको उल्लेख छ ।

उनीहरुलाई भारतीय सीमा सुरक्षा बलले रोकेर नेपाल प्रहरीको जिम्मा लगाएको बताइन्छ । नेपालको संविधानको धारा ३९ को उपधारा (५) ले बालबालिकालाई गैरकानूनी ओसारपसार गर्न नपाइने मौलिक हकको संवैधानिक व्यवस्था छ । 

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा (४) को उपदफा (२) को खण्ड (ख) मा अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी वा शक्तिको दुरुपयोग गरी विदेशमा लैजाने वा अरु कसैलाई दिने कार्यलाई मानव ओसारपसार गरेको मानिन्छ ।

त्यसप्रकारको गैरकानुनी काम गर्नेलाई नेपालमा भए एक वर्षदेखि दुईवर्षसम्म कैद र विदेशमा लगेको भए दुई वर्षदेखि पाँच वर्षसम्म कैद हुने सजायको कानुनी व्यवस्था छ ।

बालबालिकासम्बन्धी ऐन, २०७५ ले समेत बालबालिकालाई आफ्ना बाबुआमाबाट अलग गर्न नपाइने र पारिवारिक वातावरणमै हुर्कन पाउने अधिकार सुनिश्चित गरेको छ ।

सरकारी निकायको स्वीकृति बेगर बालबालिकालाई गैरकानुनी रुपमा विदेश (भारत) लैजाने व्यक्तिलाई  प्रचलित कानुनबमोजिम कारबाही गरी बालबालिकालाई सुरक्षित रुपमा परिवारमा पुनर्मिलन गराउन सम्बन्धित सबैमा परिषद्ले अपिल गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार