सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा टाटा सुमो गाडी सुनकोशी नदीमा खस्दा तीन जना महिलाको मृत्यु भएको छ।
दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब साढे दुई बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको टाटा सुमो सडकबाट करिब दुई सय मिटर तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको जानकारी पाएपछि रत्नावती र खाङसाङ प्रहरी चौकीबाट खटिएको टोलीले घटनास्थलमा तीन महिलाको शव फेला पारेको थियो। चालकसहित दुई पुरुष, एक महिला र एक बालिकालाई उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
घाइतेहरूको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा उपचार भइरहेको छ। खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राईको अवस्था गम्भीर रहेको छ। उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक घाईते भएको प्रहरीले जनाएको छ। घाइते चारै जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत सिन्धुली जिल्ला अस्पताल पठाइएको छ।
चालकको भनाइअनुसार अझै तीन जना बेपत्ता छन्। घटनास्थलमा खुर्कोटस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएर थप खोज तथा उद्धार कार्य गरिरहेको छ।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। थप विवरण आउन बाँकी छ ।